Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जहाँ अर्गानिक र रैथाने उत्पादनको मूल्य छैन 

जहाँ अर्गानिक र रैथाने उत्पादनको मूल्य छैन 

  • 417
    SHARES
  • जहाँ अर्गानिक र रैथाने उत्पादनको मूल्य छैन 

    मुगु । छायाँनाथ रारा नगरपालिका–३ की रामदेवी बुढा हरेक दिन साँझ–बिहान मुगु सदरमुकाम गमगढी बजारमा हरिया सागसब्जी र ताजा तरकारी बेच्न आइपुग्छिन् । आफैंले उत्पादन गरेको रैथाने र अर्गानिक तरकारी उनी हिउँद बर्खा सधैंभरि यसरी नै बेच्छिन् । बिहान साँझ तरकारी बेच्न बजार आए पनि दिउँसभर खेतिपातीमै हुन्छिन् ।

    अन्य परम्परागत खेतीभन्दा तरकारीमा आम्दानी राम्रो देखेर उनी बिस्तारै यतातिर आकर्षित भएकी हुन् । रैथाने तरकारी जोगाउन र अर्गानिक खेतीमा जोड दिए पनि बजारमा भने यस्ता उत्पादनको मूल्य नपाउँदा उनी दिक्क मान्छिन् । उनी भन्छिन्, ‘लगानी अनुसार मूल्य नपाउँदा मन खिन्न हुन्छ ।’ 

    उनका अनुसार तरकारी खेतीमा कहिल्यै पनि रासायनिक मल हाल्ने गरेको छैन । उनी भन्छिन्, ‘आफ्नै खेतबारी बिगार्ने रासायनिक मल किन हाल्नु र ?हामी त सधै प्राङ्गगारिक मल प्रयोग गर्छौं । तर मिहिनेत धेरै उत्पादन कम हुन्छ । बजारले यो त देख्दैन ।’

    रामदेवीका अनुसार मुगुमा अर्गानिक र रैथाने तरकारीको मूल्य नै छैन । यहाँका सर्वसाधारणले स्थानीय तरकारी फलफूल छाडेर आयातित तरकारी र फलफूललाई चर्को मूल्य तिर्ने गरेको उनी बताउँछिन् ।

    मुगुलाई कर्णाली प्रदेशको अन्नबालीको भण्डार भनिन्छ । यहाँ उत्पादित रैथाने र अर्गानिक बाली निकै नै स्वस्थकर र स्वादिलो हुने प्रदेशभर विश्वास छ । परापूर्वकालदेखि नै यहाँका किसानले रैथाने अन्नबाली लगाउने र जोगाउँदै आएका छन् । तर आफैंले जोगाएर ल्याएको उत्पादन हेपिएकोमा किसान चिन्ता व्यक्त गर्छन ।

    छायाँनाथ रारा नगरपालिका–३ कि कुसुमदेवी कार्की पनि रामदेवी जस्तै  किसानी गर्छिन् । उनको पनि रामदेवीको जस्तै प्रश्न छ– मुगुका अर्गानिक उत्पादनले किन मूल्य पाउँदैनन् ?

    उनका अनुसार अब स्थानीय सरकारले किसानको उत्पादन बिक्री र व्यवस्थापनमा जोड दिनुपर्छ । छायाँनाथ रारा नगरपालिकाले तरकारीलाई बजारीकरण र उचित व्यवस्थापनमा सघाउनु पर्छ । पालिकाले नै हाटबजार सञ्चालन गरेर कृषक र ग्राहकलाई सहज बनाउन उनले माग गरिन् । 

    मुगुका उत्पादन विषेशगरी खुर्सानी, गोलभेँडा, प्याज, आलुलगायत तरकारी बिक्री नभएर कुहिने गरेका छन् । बिक्री नभएका कारण सदरमुकाम आएका किसानले त्यसै फाल्ने समेत गरेको बताए । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भाम मुगुमा हाटबजार सञ्चालनको तयारी भइरहेको बताउँछन् ।

    प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले पनि राजनीतिक दल र सम्बन्धित कार्यालयसँग हाटबजार स्थापनाका लागि पहल, समन्वय, सहकार्य गर्न जोड दिएको बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij