वेबटिभी खबर
काठमाडौं । कर्णालीमा सवारी असुरक्षा र दुर्घटना बढ्दै गएको पाइएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७८/०७९ मा अघिल्ला वर्षभन्दा ४३ प्रतिशत सवारी दुर्घटना बढेकाे जनाएको छ । उक्त आवमा ४०२ सवारी दुर्घटना भएका थिए ।
आव २०७६/७७ मा २३६, २०७७/७८ मा २९१ सवारी दुर्घटना भएका थिए । पछिल्ला ३ आर्थिक वर्षमा मात्रै सवारी दुर्घटनामा परी ३९२ जनाको मृत्यु भएको छ । प्रदेश ट्राफिक प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले दुई वर्ष कोरोना रोकथामका लागि ‘लकडाउन’ गरिएकाले केही कमी देखिएको बताए ।
प्रदेश ट्राफिक प्रहरी अन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका अनुसार आव २०७६/७७ मा ९७, आव २०७७/७८ मा ९८ र आव २०७८/७९ मा १९७ जनाले सडक दुर्घटनामा ज्यान गुमाए भने ७०० बढी घाइते भएका छन् ।
जिल्लागत रूपमा सबैभन्दा बढी दुर्घटना सुर्खेतमा भएका छन् । गत वर्षको तथ्यांकलाई आधार मान्दा कूल दुर्घटनाको ४६ प्रतिशत दुर्घटना सुर्खेतमा भएका छन् ।
सल्यानमा ५५, दैलेखमा ४४, रूकुम पश्चिममा ३५, जाजरकोटमा २५, जुम्लामा २३, कालीकोटमा १७, मुगुमा सात, डोल्पामा ६ र हुम्लामा ३ सडक दुर्घटना भएको प्रहरीको तथ्यांक छ ।
ट्राफिक प्रहरीको त्रि-वर्षीय विश्लेषणले सडक दुर्घटना हुनुमा पहिलो कारण तीव्र गति र दोस्रो यान्त्रिक कारण रहेको औँल्याएको छ ।
उक्त प्रतिवेदनमा भनिएको छ, ‘मानिसको ज्यान जाने, अंगभंग हुने तथा दीर्घकालीन अपांगता हुने दर सवारी दुर्घटनाका कारण बढ्दो छ । यसबाट राज्यलाई बर्षेनी सवारी दुर्घटनाका कारण उपचार, अनुसन्धान, बीमा, क्षतिपूर्ति लगायतका विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा वृद्धि भएको छ ।’
ट्राफिक प्रहरीले कर्णाली प्रदेशलाई सडक सुरक्षाका दृष्टिले सुरक्षित क्षेत्र बनाउन प्रदेश, जिल्ला र पालिकास्तरीय सडक सुरक्षा सम्मेलनमार्फत कार्ययोजना तयार पार्ने र लागू गर्ने योजना बनाएको छ । यसले दुर्घटनामा कमी आउने प्रहरीको विश्वास छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij