वेबटिभी खबर
काठमाडौं । नेपाली सेनाले द्वन्द्वग्रस्त अफ्रिकी राष्ट्र कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा खटिएका नेपाली सैनिकहरू सुरक्षित रहेको बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै सेनाले उक्त जानकारी दिएको हो ।
‘उक्त मिसनमा तैनाथ सम्पूर्ण नेपाली शान्ति सैनिक तथा सैनिक पर्यवेक्षकहरू सुरक्षित रहेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रसंघको मोनुस्को मिसनको मुख्यालय रहेको कंगोको गोमा शहरमा साउन ९ गतेदेखि स्थानीय जनताले विभिन्न माग राख्दै मोनुस्को मिसनविरूद्ध प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारीहरूले मिसनसँग सम्बन्धित केही भौतिक संरचनाहरुमा आगजनी तथा लुटपाटजन्य घटनाहरू गरिरहेको सेनाले जनाएको छ ।
‘उक्त मिसनमा तैनाथ नेपाली सेनाका सम्पूर्ण युनिटहरू तथा सैनिक पर्यवेक्षकहरूलाई विशेष सुरक्षा सतर्कता अवलम्बन गर्न, परिस्थितीको निरन्तर अनुगमन गर्न तथा श्री शान्ति कार्य निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको समेत जानकारी गराईन्छ ।’ नेपाली सेनाले विज्ञप्तिमा भनेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij