Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कांग्रेस प्रवक्ता डा.महत बाढीपहिरो क्षेत्रको निरीक्षणमा

कांग्रेस प्रवक्ता डा.महत बाढीपहिरो क्षेत्रको निरीक्षणमा

  • 329
    SHARES
  • कांग्रेस प्रवक्ता डा.महत बाढीपहिरो क्षेत्रको निरीक्षणमा

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं-१ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

    यही साउन २४ गते रातिको भीषण वर्षाले तादी खोलामा आएको बाढीले नुवाकोट क्षेत्र नं-१ का स्थानमा क्षति पुर्‍याएको थियो ।

    नुवाकोटको दुप्चेश्वर-३ राउतबेंसी, तादी-४ सातबिसे र पञ्चकन्या-४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या-२ आप्र र तादी-५ बाहुनबेंसी जोड्ने पक्की पुल, पञ्चकन्या-१ को सिमारा फाँट र लिखु-३ सूर्यमति र १ ढिकुरे जोड्ने पक्की पुल बाढीका कारण क्षति ग्रस्त भएका छन् ।

    पञ्चकन्या र तादी जोड्ने पुलको क्षति अवलोकन गरेपछि प्रवक्ता डा.महतले सडक कार्यालय र स्थानीय तहको समन्वयमा भत्किएको पुलको तुरुन्त पुनर्निर्माण गरी आवागमन पुनः सञ्चालनमा ल्याउन र बाढी पहिरो प्रभावित क्षेत्रका लागि थप बजेट उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

    आफ्नो गृह जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई भेट्न पुगेका डा.महतले बाढीले सातबिसे र थप्रे जोड्ने तादी खोलामाथिको पुल पनि क्षतिग्रस्त बनाएको अनुगमनपछि आवागमन सहज बनाउन जतिसक्दो छिटो यसको पुनर्निर्माण गर्न नेपाल सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

    आलो पहिरो नथामिएको र सिमसिम पानी परिरहेका बेलामा बाढी पहिरो प्रभावितसँग प्रत्येक्ष भेट्ने, राहत, क्षतिपूर्ति, पुनस्थापना तथा पुनर्निर्माणका बारेमा छलफल गर्ने उद्देश्यले बाढी पहिरोग्रस्त क्षेत्रमा डा.महत पुगेका थिए ।

    उनले पहिरोबाट अधिक प्रभावित राउतबेँसीको निरीक्षण भ्रमणपछि प्राकृतिक प्रकोपबाट पीडित र प्रभावित नागरिकहरूलाई राहत तथा विपदबाट भएको क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन र भत्किएका भौतिक संरचनाको पुनर्निर्माणका लागि शीघ्र कदम चाल्न सरकारसँग माग गरे ।

    बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण र प्रभावित नागरिकसँगको भेटपछि महतले स्थानीय जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र पुनर्निर्माणको बारेमा छलफल गरेका थिए ।

    उनले स्थानीय जनप्रतिनिधिहरूलाई पहिले पहिरो र बाढीले पुर्‍याएको क्षतिको यथार्थ विवरण संकलन गर्न, प्रभावितको सूची तयार पार्न र क्षतिग्रस्त भएका संरचनामध्ये सानातिना र थोरै रकमले हुने मर्मतसम्भार पालिकाको बजेटबाट सम्पन्न गराउन सुझाव दिए ।

    प्रवक्ता डा.महतले प्राविधिक सहयोग चाहिने र ठूलो रकम चाहिने संरचनाका हकमा प्रदेश सरकार र संघीय सरकारसँग यथोचित बजेट यथाशीघ्र उपलब्ध गराउन आफूले पनि सक्दो सहयोग गर्ने बचन दिएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij