Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नदी कटान रोक्न स्थानीय जैविक तटबन्धमा जुटे

नदी कटान रोक्न स्थानीय जैविक तटबन्धमा जुटे

  • 634
    SHARES
  • नदी कटान रोक्न स्थानीय जैविक तटबन्धमा जुटे

    कैलाली । कैलालीको टीकापुर-८ का स्थानीय नदी बस्तीमा पस्ने खतरा बढेपछि स्थानीय जैविक तटबन्धमा जुटेका छन् ।

    टीकापुर ८ वनगाउँस्थित सत्ती कर्णाली सामुदायिक वनको सिमानामा कर्णाली नदी किनारमा दैनिक दुई सय ५० स्थानीय तटबन्ध कार्यमा जुटेका हुन् ।

    स्थानीयहरू चार दिनदेखि स्थानीयस्तरमा पाइने झालापाता, बाँस र कट्टामा माटो भरेर नदी नियन्त्रणको प्रयासमा जुटेका हुन् । वनगाउँमा सो नदीमा २५ मिटर जति तटबन्ध गर्नुपर्ने देखिन्छ ।

    स्थानीयले बढी जोखिम रहेको करिब १० मिटर क्षेत्रमा जैविक तटबन्ध गर्न थालेको बताएका छन् । स्थानीय बडघर रामप्रसाद चौधरी कर्णाली नदी फुटेमा वडा नं-८ पूरै डुबानमा पर्ने बताए ।

    उनले बडघर वनगाउँ, फाटा, अनुर्वा, बटनपुर, कमलगाउँ, कर्मीडाँडा, रामडाँडा, सत्तीपुल र वडा नं-९ को पायलगाउँसमेत सखाप हुने भएकाले स्थानीय श्रमदानमा खटेका जानकारी दिए ।

    ‘गत वर्ष कात्तिकमा आएको बाढी यही ठाउँबाट बस्तीमा पसेको थियो, गत वर्ष वडा नं-८ पूरै डुबान भएको थियो । नदी फुटेको ठाउँ सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरेको थियो’, उनले भने ।

    ‘यस वर्ष पनि खतरा बढेको छ । त्यसैले हामीले सिँचाइ आयोजना र नगरपालिकाले बनाएको संरचना नबगोस् भनी तटबन्धमा जुटेका हौं, नदीले कटान बढाउँदै लगेमा वडा पूरै सखाप हुनेछ ।’

    तटबन्धका लागि वडा कार्यालयको पहलमा रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाले आठ सय कट्टा र तारजाली उपलब्ध गराएको छ । तटबन्धमा ६५ प्रतिशत महिला र अन्य पुरुष सहभागी छन् । नदीमा तीन मिटर बढी पानी भए पनि स्थानीय विकल्प नै भएको भन्दै आफैं नियन्त्रणको प्रयासमा जुटेका बडघर चौधरीको भनाइ छ ।

    ‘तटबन्ध गरिरहेको ठाउँमा पानी ४ मिटरसम्म छ तर तटबन्ध गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘नदीमा पानीको वहाव बढे त रोक्न सक्ने अवस्था छैन । अहिले भइरहेको कटान रोक्न हामी सकेको गरिरहेका छौं ।’

    गत वर्ष कात्तिक २ गते आएको बेमौसमी वर्षापछि सोही ठाउँमा नदी फुट्दा वडा नं-८ पूरै डुबानमा परेको थियो । नदीको धार परिवर्तन भएर नदी बस्ती पस्दा बाढीपछि रानी-जमरा-कुलरिया सिँचाइ आयोजना र टीकापुर नगरपालिकाले मर्मत गरे पनि यस वर्ष पुनः भत्कँदै छ ।

    यसलाई रोक्न स्थानीय श्रमदानमा जुटेका वडा नं-८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउछन् । ‘म आफैँ पनि तटबन्ध कार्यमा खटिरहेको छु । लामो समयदेखि सिँचाइ आयोजना, प्रदेश र संघीय सरकार गुहारिरहेका छौ’, उनले भने ।

    ‘सिँचाइ आयोजनाले विभिन्न ठाउँमा तटबन्धको कार्य गरिरहेको छ । तर नदीले विभिन्न ठाउँमा भत्काउँदै लगेको छ । नदी बृहत्रूपमा तटबन्ध गरेमात्रै बस्ती जोगाउन सकिन्छ ।’ वडाध्यक्ष ठकुल्ला यहाँका नागरिकलाई हरेक वर्ष वर्षात्मा बाढीको त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताए ।

    ‘नदी कटानले विभिन्न बस्ती र सत्ती पुल नै जोखिममा रहेको छ । नदी बस्तीमा पसेमा वडा नं-८ को अस्तित्व नै जोखिममा पर्छ’, वडाध्यक्ष ठकुल्लाले भने, ‘वनगाउँमा नदीले हरेक वर्ष कटान गर्दै आएको छ । नदीले करिब २५ बिघा सत्ती कर्णाली सामुदायिक वनसमेत कटान गरिसकेको छ ।’

    टीकापुरको तल्लो तटीय क्षेत्रका नागरिकले हरेक वर्ष वर्षात्मा नदी कटान, डुबानको समस्या झेल्दै आएका छन् । नागरिकलाई नदीकै कारण तनाव झेल्नुपर्ने समस्याबाट राहत दिनेबारेमा सरकारले काम गर्नुपर्ने स्थानीय कुलबहादुर चौधरीको माग छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij