Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सप्तकोसीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गरिँदै

सप्तकोसीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गरिँदै

  • 547
    SHARES
  • सप्तकोसीले कटान गरेको क्षेत्रमा तटबन्ध निर्माण गरिँदै

    उदयपुर । उदयपुरको बेलका नगरपालिकाको केही वडामा सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा नगरपालिकाले कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ ।

    नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं-२ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरु गरेको हो ।

    सो निर्माणका लागि प्राविधिकहरूको सल्लाहअनुसार ढुंगा संकलन र तारजाली जस्ता सामग्री जुटाउने र उपलब्ध गराउने काम भइरहेको नगरपालिकाले बताएको छ । विगतमा बोरामा बालुवा बाँधेर निर्माण गरेको तटबन्ध नदीले भत्काएकाले अब ढुंगाको पर्खाल र तारजाली लगाउन सुरु गरिएको नगरपालिकाकी उपप्रमुख जिरा राईले बताइन् ।

    तत्काल पुनः विपत्ति आउन सक्ने हुनाले नगरपालिकाको अन्य विकासको बजेट कटौती गरेर झन्डै तीन करोडभन्दा बढी रकम नगरको वडा नं-१ ३ र ८ को नदी कटान नियन्त्रणमा लगाउने जनाइएको छ ।

    यसका लागि संघीय सरकार जलस्रोत मन्त्रालय र प्रदेश सरकारसँग सहयोगे माग गरिएको बेलकाका प्रमुख अशोक कार्कीले बताए । स्थायी तटबन्धन पहल गरेपनि यो कार्य केही वर्ष ढिला हुन सक्ने हुनाले तत्काल नै केही वडामा कोसी कटानको उच्च जोखिमबाट बचाउन नगरपालिकाको पहल र सक्रियतामा नै तटबन्ध बनाउन लागिएको बताइएको छ ।

    केही दिनअघि बेलकाको कोसी क्षेत्र आसपासमा बाढी आउँदा झन्डै दुई हजार पाँच सयभन्दा बढी जनता अस्थायीरुपमा विस्थापित भएका छन् । अहिले नदी कटानबाट विस्थापितमध्ये झन्डै पाँच सयलाई नगरपालिकाले अस्थायी शिविरमा राखेर राहत प्रदान गरिरहेको छ ।

    नगरपालिकाको सिसौलिया, डुम्रीबोट, सातपत्रेलगायत श्रीलंका टापु र एबिसी टापुमा सप्तकोसीको बाढी प्रवेश गर्दा सो क्षेत्रका गाउँघर धेरै जोखिममा परेका छन् । त्यहाँका स्थानीय विस्थापित भएपछि अहिले पनि फर्केर गाउँघर प्रवेश गर्न नसकेको बेलका नगरपालिकाले बताएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij