वेबटिभी खबर
काभ्रे । इन्द्रावती नदीले मण्डनदेउपुर नगरपालिका-१० हल्देटारस्थित सयभन्दा बढी रोपनी खेत कटान गरेको छ । मनसुनी वर्षाका कारण उक्त नदीमा आएको बाढीले सुकुटेबगरमा धान रोपिएको खेत कटान गरेको हो ।
स्थानीय २५ किसानको करिब एक सय रोपनीभन्दा बढी धानखेत नदीले कटान गरी क्षति पुर्याएको नगर सहकारी समन्वय समितिका अध्यक्ष सुमन नेपालले जानकारी दिए । उनका अनुसार केही किसानको भएको सबै खेतसमेत नदीले बगाएको हो ।
उक्त क्षेत्रमा खेत कटानको समस्या केही वर्षदेखिकै रहेको नेपालले बताए । गत वर्ष पनि आफ्नो खेत कटान गरेको स्थानीय शिक्षक प्रेमबहादुर लामाले बताए । अहिले उनको नारिमखर्कको चार रोपनी धान खेत नदीले कटान गरेको छ ।
माझीगाउँको पुल नजिक पनि नदीले खेत कटान गरेको लामाले जानकारी दिए । गत वर्षदेखि नै नदीले खेत कटान गरेपछि नगरमा खेतीयोग्य जमिन संरक्षणका लागि गत वर्षदेखि किसानले ध्यानाकर्षण गराए पनि कुनै चासो नदिएको लामाको भनाइ छ ।
‘हामी पीडितले खेत जोगाउनुपर्यो भनेर गत सालदेखि नै जनप्रतिनिधिलाई पटक/पटक भन्यौँ, तर वास्ता गरिएन’, उनले भने । नगर उपप्रमुख विष्णुमणि नेपालले नदीले कटान गरेको क्षेत्र संरक्षणका लागि नगरको बजेटले नपुग्ने भएकाले प्रदेश तथा संघीय सरकारसँग माग गर्नुपर्ने बताए ।
उनले इन्द्रावती नदीले वर्षैपिच्छे खेतीयोग्य जमिनसँगै अन्य जमिन कटान गर्दा माझी बस्तीसमेत जोखिममा परेको बताए । उनले भने, ‘मण्डनमा नदीले कटान गरिरहेको ठूलो समस्या बनेको छ, योजना बनाएरै लाग्दैछौं ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij