वेबटिभी खबर
महेन्द्रनगर । कर्मचारी सञ्चय कोषले सुदूरपश्चिम प्रदेशमा आफ्ना सञ्चयकर्तामा विभिन्न सेवा उपलब्ध गराउनाका साथै कर्जा लगानी सुलभरूपमा प्रदान गरिरहेको छ ।
कोषले सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार, कर्मचारी कल्याण योजना, घर सापटी, जग्गा खरिद सापटीलगायत सुविधा दिनाका साथै सञ्चयकर्ताको व्यक्तिगत ‘केवाइसी’ विवरण अद्यावधिक गरिरहेको छ ।
सञ्चय कोष शाखा कार्यालयका प्रमुख धुव्र तिवारीले आर्थिक वर्ष २०७८/७९ मा १ हजार ३ सय ७९ सञ्चयकर्तालाई ४३ करोड ९० लाख ८८ हजार ४९६ विशेष सापटी प्रदान गरिएको बताए ।
यस्तै दुई हजार ४२१ जनालाई अवकाश पछिको भुक्तानी रकमस्वरूप ५४ करोड ५६ लाख प्रदान गरिएको उनको भनाइ छ । ‘बैंकहरूले तरलता देखाउँदै ऋण लगानीमा कडाइ गर्नाका साथै केही समय स्थगन गरेकाले सञ्चय कोषबाट कर्जा लिनेको संख्या बढ्दै गएको छ ।’
प्रमुख तिवारीले भने, ‘सञ्चयकर्ताको सुविधाका लागि विभिन्न योजना पनि कोषले ल्याउने गरेको छ ।’ धितोमा आधारित कर्जा प्रवाहका लागि दायरा विस्तार कार्यक्रमअन्तर्गत कञ्चनपुर र कैलालीका विभिन्न स्थानको स्थलगत अध्ययन गरी स्वीकृतिको लागि सञ्चयकर्ता कर्जा विभागमा प्रतिवेदन पठाइएको उनले जानकारी दिए ।
सुदूरपश्चिममा २०६१ सालमा कोषको शाखा कार्यालय सञ्चालनमा आएयता यहाँका कर्मचारीले कोषको कामका लागि काठमाडौँ धाउनुपर्ने बाध्यतासमेत हटेको छ ।
त्यसैगरी गत आर्थिक वर्षमा सञ्चयकर्ताको सामाजिक सुरक्षातर्फ प्रसूति तथा शिशु स्याहार खर्चबापत कोषले १ हजार ५८३ सञ्चयकर्तालाई १ करोड १८ लाख भुक्तानी गरिएको छ।
कोषले काजकिरिया अनुदान भुक्तानीबापत ५३ सञ्चयकर्ताको हकवालालाई ८१ लाख २० हजार, दुर्घटना क्षतिपूर्तिबापत २८ सञ्चयकर्ताको हकवालालाई ५६ लाख तथा कर्मचारी कल्याण योजनाबापत १३ सञ्चयकर्ताको हकवालालाई १९ लाख ५० हजार भुक्तानी गरेको छ ।
गत आर्थिक वर्षमा घर सापटीतर्फ १ सय ८९ सञ्चयकर्तालाई ४३ करोड ६६ लाख, घरमर्मत सापटीतर्फ ४३ सञ्चयकर्तालाई ७ करोड ५३ लाख, शैक्षिक सापटीतर्फ एक जनालाई ९ लाख ६९ हजार भुक्तानी गरिएको छ ।
जग्गा खरिद सापटीतर्फ १५ सञ्चयकर्तालाई २ करोड प्रवाह गरिएको छ । ‘धितोमा आधारित कर्जा लिने ऋणीबाट साँवा ब्याज गरी १८ करोड ४१ लाख ८३ हजार असूल भएको छ ।’ शाखा प्रमुख तिवारीले भने, ‘केवाइसी अद्यावधिकको काम पनि चलिरहेको छ ।’
गत वर्ष मात्रै ४ हजार ६ सय १९ सञ्चयकर्ताको व्यक्तिगत केवाइसी विवरण अद्यावधिक गरिएको कोषले जनाएको छ । केवाइसी विवरण अद्यावधिक गर्न शाखाबाट कञ्चनपुर, कैलाली र डोटीका विभिन्न कार्यालयमा कर्मचारी खटाइएको थियो ।
यस अवधिमा शाखा कार्यालयले कोषबाट प्रदान हुने सेवा सुविधा तथा केवाइसी सम्बन्धमा दार्चुला, बझाङ तथा कञ्चनपुर जिल्लामा चार पटक अन्तरक्रिया गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij