वेबटिभी खबर
सर्लाही । सर्लाहीका सबै स्थानीय निकायमा कोरोना भाइरस विरूद्धको फाइजर खोप लगाइने भएको छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्लाको मलंगवा नगरपालिकाबाहेक अरू १९ वटा स्थानीय निकायमा सोमबार नै खोप पुर्याइएको र मलंगवामा मंगलबार नै खोप पुर्याइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा.नवलकिशोर झाले जानकारी दिए ।
उनका अनुसार जल्लाका २० वटै स्थानीय निकायमा एकैसाथ खोप कार्यक्रम चल्नेछ । बालबालिकालाई खोप लगाउन जिल्लाका स्थानीय निकायहरूले तालिका पनि बनाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा एक लाख ४० हजार डोज खोप आइपुगेको छ । खोप कार्यक्रम सञ्चालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरूलाई अभिमुखीकरण तालिमसमेत दिइएको थियो ।
५ देखि १२ वर्ष उमेर समूहका करिब दुई सय जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइने छ भने सो संख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij