वेबटिभी खबर
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले आफ्नो दल र माधव नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादीबीच विचार र कार्यदिशामा समानता रहेको बताएका छन् ।
उनले विचार मिलेकै कारण आसन्न ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा साझा घोषणापत्र बनाउने सहमति दुई दलबीच भएको बताए । यस्तै एकता संयोजन समिति बनाउने र निर्वाचनपछि पार्टी एकता हुने सहमति पनि भइसकेको उनले जनाए ।
मंगलबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘माओवादी केन्द्र र एकीकृत समाजवादीको बीचमा विचारको समानता छ । राजनीतिक कार्यदिशामा पनि एकरूपता छ । हामी वामशक्तिहरू एक ठाउँमा आउनुपर्छ । यसमा सबभन्दा राजनीति मिल्नेहरू भनेको माओवादी र समाजवादी नै हो ।’
पुनले डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि एउटै घोषणापत्र बनाएर चुनावमा जानेबारे छलफल चलेको जानकारी दिए ।
‘बाबुराम भट्टराईजी र वामदेव गौतमजीसँग पनि कुरा भइरहेको छ । सकेसम्म एउटै घोषापत्र बनाएर जाने कुरा भइहरको छ,’ उपमहासचिव पुनले भने ।
यस्तै उनले सत्ता गठबन्धनमा रहेका कांग्रेससहित अन्य दलसँग न्यूनतम साझा कार्यक्रम बनाएर निर्वाचनमा जाने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij