वेबटिभी खबर
काठमाडौं । सदभावना पार्टी परित्याग गरेकी सरिता गिरिले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिराह १ बाट चुनाव लड्ने घोषणा गरेकी छिन् । नेतृ गिरिले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले चुनावमा सहयोग लागि सबैसँग आग्रह पनि गरेकी छिन् ।
लामो समयसम्म मधेस केन्द्रित दलमा रहेर राजनीति गर्दै आएकी गिरि स्वतन्त्र वा कुन दलबाट चुनाव लड्दै छिन् भन्ने खुलेको छैन । बुधबार उनले दिवंगत कांग्रेस नेता प्रदिप गिरिको आग्रहअनुसार आफूले सदभावना पार्टी परित्याग गरेको बताएकी थिइन् ।
सरिता प्रदिप गिरिकी भाइबुहारी हुन् । उनी दुई वर्षअघि जसपा छाडेर सदभावना प्रवेश गरेकी थिइन् । उनले भनिन्, ‘म सिराहको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो ।’
सिराह १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदिप गिरि विजयी भएका थिए । ०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रदिप गिरि सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij