वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गरेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लक्षित प्रचार–प्रसारका लागि कांग्रेसले देशव्यापी रूपमा संगठन सुदृढिकरण र प्रचार–प्रसार अभियान सुरु गरेको हो ।
अभियानका लागि कांग्रेसले केन्द्रीय समितिबाट ७७ वटै जिल्लामा प्रतिनिधिहरू खटाएको छ । नेताहरू अभियानका गतिविधि गर्न जिल्ला–जिल्ला पुगिसकेका छन् ।
सोही अभियानका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा सांसद डा.डिला संग्रौलालाई झापामा खटाएको छ । डा.संग्रौला झापा पुगेर अभियानमा लागेकी छिन् ।
कांग्रेसका अनुसार मंसिर ४ मा हुने निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्ने, जनताको घर–आँगनमा पुग्ने, कांग्रेसलाई जनता के सुनाउन चाहन्छन् सुन्ने, जनताको भावना बुझ्ने, जनताको भावना अनुरूपको रूपान्तरण र विकास परियोजनाहरू बारे जनतासँग विविध ढंगले अन्तरक्रिया गर्ने, कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सु–सूचित गर्ने र निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने पक्षमा माहौल बनाउने र निर्वाचनमा तालमेल गरेर जानुपरेको विषय र वस्तुस्थिति पार्टी पंक्ति र जनतासमक्ष राख्ने अभियानका उद्देश्य हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij