वेबटिभी खबर
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले हरितालिका तीजको मौलिकता कायम राख्दै भड्किलोपन एवं खर्चिलोपनलाई हटाउँदै जानु अति आवश्यक रहेको बताएका छन् ।
तीजको अवसरमा मंगबार शुभकामना सन्देश जारी गर्दै उजले भड्किलोपन हटाउन सके पर्वको सांस्कृतिक महत्वको जगेर्ना हुने विश्वास व्यक्त गरेका छन् ।
मुख्यमन्त्री शाहीले तीज पर्वले समाजमा विद्यमान लैंगिक, जातिय विभेदलगायत सबै प्रकारका असमानताहरुको अन्त्य गर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गरेका हुन् ।
सन्देशमा भनिएको छ, ‘तीजले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्न मद्दत गरेको छ । यसको आफ्नै मौलिकता छन् । चेली–माइती, साथी–संगी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाएको छ ।’
साथै मुख्यमन्त्रीले यस्ता धार्मिक÷सांस्कृतिक पर्वले नेपालीहरुको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावकायम गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
खासगरी हिन्दु धर्मावलम्वी महिलाहरूले भाद्र शुक्ल तृतीयाका दिन मनाउने यो पर्वमा भगवान शिवको आराधाना गर्दै शौभाग्य, दीर्घायू र पारिवारिक सुखको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij