Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बाराबंकी बस दुर्घटना, शोकमग्न बिनौना गाउँ

बाराबंकी बस दुर्घटना, शोकमग्न बिनौना गाउँ

  • 487
    SHARES
  • बाराबंकी बस दुर्घटना, शोकमग्न बिनौना गाउँ

    बाँके । मजदूरीका लागि भारत जाँदै गरेका एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि बाँकेको राप्ती सोनारी गाउँपालिका-५ बिनौना गाउँ शोकमा डुबेको छ ।

    सीमावर्ती भारतीय सहर रूपैडिहाबाट गोवातर्फ जाँदै गरेको युपी ९३ बि टि.९९४४ नं को यात्रु बाहक बस शनिबार बिहान भारतको बाराबंकीमा दुर्घटना हुँदा राप्ती सोनारी-५ बिनौना गाउँका २५ वर्षीय प्रेम थारु, २४ वर्षीय शीतल थारु, दाङ तुलसीपुर उपमहानगरपालिका निवासी ४५ वर्षीय चक्रबहादुर ओलीसहित चार नेपालीको मृत्यु भएको थियो ।

    दुर्घटनामा परी मृत्यु भएका राप्ती सोनारी-५ बिनौना निवासी प्रेम र शीतल फूपु र मामाका छोरा नाता पर्ने दुई भाइ हुन् । एउटै गाउँका दुई युवाको सडक दुर्घटनामा मृत्यु भएपछि सिंगो बिनौना गाउँ शोकमग्न भएको वडाध्यक्ष झगरु थारुले बताए ।

    ‘गाउँ शोकमग्न छ, हामी सबै जम्मा भएका छौँ’, वडाध्यक्ष थारुले भने, ‘शोकमग्न आफन्तजन तथा गाउँवासी दाहसंस्कारका लागि आइपुग्नुभएको छ ।’ प्रेम र शीतल यसअघि पटक-पटक मजदूरीका लागि भारत जाने आउने गर्ने गरेका थिए ।

    मृतक प्रेमका दुई बच्चा रहेका छन् भने शीतल अविवाहित थिए । एउटै दुर्घटनामा बिनौनाका दुई जना मृतक र केही घाइते भएपछि बिनौनावासी शोकमग्न भएको वडाध्यक्ष थारुले बताए ।

    मृतकको शव भारतीय प्रहरीसँगको समन्वयमा आज बिहान २ बजे नेपाल ल्याइएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिए ।

    उनका अनुसार मृतक चार जना नेपालीमध्ये एक जनाको अझै पहिचान हुन सकेको छैन् । घाइतेमध्ये छ जनाको अवस्था गम्भीर रहेको भारतीय प्रहरीले जनाएको छ । उनीहरूको लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij