वेबटिभी खबर
काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्ड थुनिन्छन् भने यो भन्दा लज्जास्पद के हुन्छ ? भन्दै सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रश्न गरेका छन् । डा.भट्टराईले आइतबार बेलुकी सामाजिक सञ्जालमार्फत प्रश्न गरे,‘मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिएको समाचार सत्य हो भने यो भन्दा लज्जास्पद कुरा के हुन्छ ?’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको टोली शुक्रबार ठमेलस्थित क्यानेडियन भिषा सेन्टरमा लाइन मिचेर अघि बढ्न खोज्दा कम्पनीको सुरक्षागार्डले रोकेका थिए । ड्युटीमा खटिएका सुरक्षा इन्चार्ज शेरजंग गुरुङले रोक्दै सामान्य नागरिकजस्तै लाइनमा बस्न आग्रह गरेका थिए ।
लाइनमा मन्त्रीभन्दा अघि भिषा आवेदक अरू व्यक्ति थिए । सुरक्षागार्डले मन्त्रीलाई पनि लाइनमा राख्न खोजेपछि विवाद बढेको हो । सुरक्षागार्डले अभद्र व्यवहार गरेको भन्दै मन्त्री श्रेष्ठको गुनासोपछि गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सुरक्षागार्डलाई पक्राउ गरी अहिले पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।
यही घटनाका सन्दर्भमा पूर्वप्रधानमन्त्री डा.भट्टराईले नियम पालना गराउने अपराधी कि नियम उल्लंघन गर्ने अपराधी ? भन्दै प्रश्न गरेका छन् । ड.भट्टराईले मन्त्री श्रेष्ठको प्रसंग निकाल्दै ट्राफिक सिग्नल पालन नगर्दा प्रधानमन्त्रीलाईसमेत दण्डित गर्ने देशका पर्यटकले के भन्लान् ? भनि प्रश्न तेर्स्याएका छन् । ‘नियम पालना गराउने अपराधी कि नियम उल्लंघन गर्ने अपराधी ? यो खबर सुनेपछि ट्राफिक सिग्नल पालन नगर्दा प्रमलाईसमेत दण्डित गर्ने देशका पर्यटकले के भन्लान् ?’ डा.भट्टराईले लेखेका छन् ।
डा.भट्टराई ८ महिनाअघि क्यानेडियन भिषा सेन्टरमै करिब आधा घण्टा लाइनमा बसेका थिए । जतिबेला डा.भट्टराई बेलायतको भिषाका लागि बायोमेट्रिक दिँदै थिए । डा.भट्टराईका प्रमुख स्वकीय सचिव रोशन पोखरेलले भने,‘८ महिना पहिला पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई त्यही स्थानमा सोही कामको लागि जाँदा करिब आधा घण्टा लाइनमा उभिनु भएको थियो । सिस्टमलाई त फलो गर्नुपर्छ नि !’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij