Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

त्रिशूली अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

त्रिशूली अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

  • 428
    SHARES
  • त्रिशूली अस्पतालमा डेंगुको निःशुल्क परीक्षण

    काठमाडौं । नुवाकोटको त्रिशूली अस्पतालले डेंगु रोगको परीक्षण निःशुल्क गर्ने भएको छ । पछिल्लो समयमा महामारीकोरूपमा यस रोगको संक्रमण फैलिएसँगै त्रिशूली अस्पतालले भोलि बुधबारदेखि परीक्षण निःशुल्क गर्न लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.दीपेन्द्र पाण्डेले जानकारी दिए ।

    उनको अनुसार अस्पतालले डेंगु रोग नियन्त्रणमा सहयोग पुर्‍याउन अस्पतालको अग्रस्थानमा सहायता कक्षसमेत स्थापना गरेको छ । उक्त कक्षमा मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको टोलीबाट अस्पतालमा जाँच गर्न पुगेका बिरामीलाई यस रोगसम्बन्धी परीक्षणसहित सचेतना सन्देशसमेत प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

    ‘यसअघि अस्पतालको प्रयोगशालामा डेंगु रोगको परीक्षण गरेबापत ८ सय ५० शुल्क लिने गरेका थियौं ।’ अस्पतालका प्रमुख डा.पाण्डेले भने, ‘सहायता कक्ष र बहिरंग विभाग (ओपिडी) मार्फत सिफारिस भएका बिरामीको निःशुल्क परीक्षणको व्यवस्था मिलाएका छौं ।’

    अहिले देशभर फैलिएको डेंगु रोग यस जिल्लामा हालसम्म नौ जना व्यक्तिमा पहिचान भएको छ भने यहाँका धेरै बिरामी परीक्षणका लागि काठमाडौं जाने भएकाले संक्रमितको संख्या सम्पर्क बाहिर अझै धेरै हुनसक्ने स्वास्थ्य कार्यालय नुवाकोटको अनुमान छ ।

    डेंगु रोगको संक्रमण एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट फैलने भएकाले यसको टोकाइबाट सुरक्षित रहन अपिल गरिएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजालको अनुसार यसको लक्षण ज्वरो आउने, आँखा रातो हुने तथा दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेलगायत रहेका छन् ।

    डेंगु संक्रमित व्यक्तिको रक्तकोष घट्न गएर रोग प्रतिरोधात्मक क्षमता ह्रास भएर सिकिस्त बिरामी हुनेदेखि मृत्युसमेत हुनसक्ने भएकाले शंकास्पद लक्षण देखिने बित्तिकै परीक्षण गरेर सावधानी अपनाउन भनिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी रिजालले जानकारी दिए ।

    त्यसका लागि शंकास्पद लक्षण भएका बिरामीलाई परीक्षण गराउन अनुरोध गरिएको छ । रोगबाट सुरक्षित हुन शरीर ढाक्ने कपडा लगाउने, सुत्ने समयमा झुलको प्रयोग गर्ने, लामखुट्टे भगाउने मलम लगाउने, घरको झ्यालबाट लामखुट्टे पस्न नसक्ने झाली लगाउने तथा लामखुट्टे बस्नसक्ने स्थानमा सरसफाइ गरेर थप फैलन नदिन सचेत रहनुपर्ने उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij