वेबटिभी खबर
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको विकास निर्माणमा कर्मचारीतन्त्रको महत्त्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् । उनले जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री देउवाले १९औँ निजामती सेवा दिवसको अवसरमा आज आयोजित कार्यक्रममा कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने बताए ।
उनले कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने धारणा राखे । ‘हामीलाई जनताले मत दिएर जिताए मात्र सरकारमा आउने हो’, उनले भने, ‘तर कर्मचारी (तपाईं) हरू स्थायी सरकार हो । मुलुक बनाउने तपाईंहरूको हातमा रहेको छ ।’
उनले कर्मचारीलाई आवश्यक सेवासुविधा दिन आफू तयार रहेको बताए । गुणस्तरीय र प्रभावकारी सेवा प्रवाहमा कर्मचारी वर्गले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गरे ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले निजामती प्रशासन उत्कृष्ट प्रशासनको रूपमा हुनुपर्ने बताए । उनले अहिलेको निजामती प्रशासन डिजिटल प्रणालीमा हुनुपर्ने भन्दै जनताको काम छिटोछरितो रूपमा हुनुपर्ने बताए । उनले सेवाग्राहीका काम कार्यगत एकता प्रणालीमार्फत हुनुपर्ने बताए ।
‘जुन काम गर्नुपर्ने हो । त्यो काम एकै कोठाबाट हुनुपर्दछ’, उनले भने, ‘एउटा फाइल अर्को कोठामा घुमाउँदा तीन दिन बित्छ । त्यसैले कार्यगत एकता प्रणालीमामार्फत काम हुनुपर्दछ ।’
उनले संघीय निजामती सेवा विधेयक अर्थ र कानुन मन्त्रालयले राय दिने वित्तिकै संसद्मा टेबल गर्ने बताए । विधेयकमा छुटेका कुरालाई आधिकारिक ट्रेड युनियनसँग छलफल गरेर टुङ्ग्याउने उनको भनाइ रहेको छ ।
मुख्य सचिव शङ्करदास बैरागीले विगतका कमिकमजोरी औंल्याउँदै निजामती कर्मचारी प्रशासन अगाडि बढ्नुपर्ने बताए । ‘निजामती कर्मचारी तीन तहमा राष्ट्र सेवामा समर्पित हुनुपर्दछ । कसैलाई पनि अल्मलिने, ढिलो गर्ने छुट छैन’, उनले भने, ‘कर्मचारीतन्त्र सक्षम भएर मुलुक र जनताको सेवामा काम गर्ने हो ।’
सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद श्रेष्ठले समग्र प्रशासनको सुधारका लागि निजामती कर्मचारी लागेको बताए । उनले चार वर्षदेखि संघीय निजामती ऐन अड्किएको भन्दै यसै संसद्को अधिवेशनबाट पारित गराउनुपर्ने धारणा राखे ।
कार्यक्रममा गत आर्थिक वर्षमा निजामती कर्मचारी पुरस्कारबाट सम्मानित भएकालाई यसवर्ष प्रधानमन्त्री देउवा र सामान्य प्रशासनमन्त्री श्रेष्ठले ताम्रापत्र प्रदान गरेका थिए ।
कार्यक्रममा यस वर्षको निजामती पुरस्कार पाउने व्यक्तिको नाम घोषणा गरिएको थियो । प्रत्येक वर्ष दिवसको अवसरमा उत्कृष्ट काम गर्ने कर्मचारीमध्ये एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती कर्मचारी पुरस्कार प्रदान गर्ने गरिन्छ । यसवर्ष ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ ।
माग पूरा गराउन भेटघाट र छलफल तीव्र बनाउँदै विद्यालय कर्मचारी परिषद्
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij