Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

शहरलाई गाउँसँग जोड्दै होमस्टे

शहरलाई गाउँसँग जोड्दै होमस्टे

  • 434
    SHARES
  • शहरलाई गाउँसँग जोड्दै होमस्टे

    बाँके । बाँकेका गाउँबस्तीमा व्यावसायिकरूपमा सञ्चालित होमस्टे (घरवास)मा ग्रामीण पर्यटकको संख्या बढ्न थालेको छ । शहरको व्यस्त दिनचर्यालाई गाउँका होमस्टेको शान्त वातावरण र ग्रामीण परिवेशसँगै स्थानीय परिकारले नयाँपन दिने गरेको हो ।

    होमस्टेमा खान, बस्न र घुम्न आउने सबैजसो पाहुना शहर बजारका हुने गरेको बाँकेको बैजनाथ-१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए ।

    आफ्नो ठाउँ, परिवेश, माटो सुहाउँदो आफ्नो मौलिक, भूगोलअनुसार पूर्वाधार तयार गरेर होमस्टे सञ्चालन हुँदै आएकाले होमस्टेमा आउने पाहुनाले गाउँले जीवन, परिवेशको जानकारीसँगै स्थानीय परिकारको स्वाद लिँदा नयाँ अनुभव हुने गरेको चौधरीको भनाइ छ ।

    शहरका रेष्टुरेण्ट र होटलमा हुने जन्मदिन उत्सवलगायतका सानातिना कार्यक्रमदेखि सरकारी तथा गैरसरकारी संघसंस्थाका बैठक र कार्यक्रम पनि अहिले होमस्टेमा हुने गरेका छन् ।

    गाउँमा गएर बैठक तथा कार्यक्रम गर्दा नयाँ अनुभव हुनुका साथै सहभागीलाई समेत उत्साह मिल्ने गरेकाले आफूहरूले अधिकांश बैठक तथा कार्यक्रम होमस्टेमा गर्दै आएको नेपालगञ्ज जुनियर जेसिजका अध्यक्ष शिवकुमार मौर्यले बताए ।

    गाउँमा सञ्चालन भएका होमस्टे शहरलाई गाउँसँग जोड्ने माध्यम भएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक-३२५ बी २ का पूर्व गभर्नर मधुसुदन शर्मा बताउँछन् ।

    उनले होमस्टेमा घुम्न आउने पाहुनालाई मनोरञ्जनको लागि लायन्स पार्क, वनभोज स्थललगायत १० लाख बढीको पूर्वाधार निर्माणमा लायन्सले सहयोग गरेको जानकारी दिए ।

    अहिले गाभर होमस्टे पुग्ने पाहुनाहरू लायन्स पार्कमा पुगेर रमाउने गरेका छन् । गाउँमा स्थापना भएका होमस्टेले शहरलाई गाउँसँग जोड्नुका साथै गाउँमा रोजगार पनि सिर्जना गरेको छ ।

    गाउँमा उत्पादन हुने स्थानीय जातका मासुजन्य र दूग्धजन्य पदार्थको खपत गाउँमै भएको छ । गाउँका युवाले गाउँमै काम पाउने अवस्था भएको छ ।

    जिल्लाभरिका होमस्टेमा वार्षिक १ करोड बढी आम्दानी हुने गरेको होमस्टे महासंघका केन्द्रीय महासचिव एवम् बाँकेको गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष चौधरीले जानकारी दिए ।

    ‘हामीले केवल जीविकोपार्जन मात्रै नभई आयआर्जन, संस्कृतिको प्रवर्द्धन, प्रकृतिको संरक्षण र पर्यटनको अवधारणा अघि सारेका छौं’, खड्कवार नमूना सामुदायिक होमस्टेका अध्यक्ष लालबहादुर रानाले भने, ‘गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ ।’

    बाँके निकुञ्जसँगै जोडिएको खड्कवारमा ‘संस्कृति र प्रकृति’को संरक्षण, सम्बर्द्धन र विकासका लागि होमस्टेले अभियान सञ्चालन गरेको अध्यक्ष रानाको भनाइ छ । तीन वटा घरबाट करिब पाँच वर्षअघि सुरु गरिएको होमस्टे अहिले सात घरमा सञ्चालन भएको छ ।

    स्थानीय उत्पादन भएको तरकारी, खाद्यान्न र लोकल कुखुरा तथा खसीको मात्रै प्रयोग गरिनु खड्कवार होमस्टेको विशेषता हो ।

    थारु, जनजाति, बाहुन क्षेत्रीको मिश्रित बस्ती रहेको खड्कवारमा आउने पाहुनालाई थारु संस्कृति र परम्परागत राप्ती भेगमा गाइने टप्पा गीत तथा नाचहरु देखाएर ग्रामीण रहनसहन र संस्कृतिबारे जानकारी गराउने गरिएको अध्यक्ष रानाले बताए ।

    नेपालगञ्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको राप्ती सोनारी गाउँपालिका-८ मा नयाँ गाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो । सुरुमा सात घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको छ ।

    राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँहरू भएकाले नेपालगञ्ज, कोहलपुरलगायतका क्षेत्रबाट यहाँ दैनिकजसो पाहुना जाने गरेका छन् ।

    बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा सञ्चालित बैजनाथको गाभर भ्याली होमस्टे, कोहलपुरको खड्कवार र राप्तीसोनारी-८ को नयाँगाउँ होमस्टेले अहिले स्थानीय गाउँवस्तीलाई नगर तथा शहरी क्षेत्रमा चिनाउन र यस ठाउँको विकास र समृद्धिका लागि टेवा पुगेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।

    होमस्टेलाई संस्कृति र प्रकृतिको संरक्षणसँगै आर्थिकरूपमा सबल बनाउन आवश्यक समन्वय गर्दै आएको बाँके निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए ।

    बाँके निकुञ्जमा पर्यटनको सम्भावनालाई चिनाउन प्रचार-प्रसार र प्रकृतिमा आधारित पर्यापर्यटन प्रवर्द्धनमा जोड दिन थालिएको छ । होमस्टेमा आउने पाहुनालाई निकुञ्जका मध्यवर्ती क्षेत्रमा जिप सफारी, हात्ती सफारी, जंगल वाक, चरा अवलोकन, क्याम्पिङ, हाइकिङ, र्‍याफ्टिङलगायतका प्याकेजले बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटन प्रवर्द्धन हुँदै गएको उनको भनाई छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij