वेबटिभी खबर
दार्चुला । दार्चुलाको बाढीप्रभावित क्षेत्र महाकाली नगरपालिका-४ बाङाबगड क्षेत्रमा बस्ती जोगाउन स्थानीयसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पनि साथ दिएका छन् ।
शुक्रबार आएको लास्कुखोलाको कटानले बाङाबगड बस्ती बिस्थापित हुन थालेपछि मन्त्री बडू स्वयं ढुंगा बोकेर स्थानीयलाई साथ दिएका हुन् ।
शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुगेका उनी लास्कु खोलामा ढुंगा बोकेर साथ दिएका छन् ।
प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकालीका नगर प्रमुख नरसिह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, नेकपा (एमाले)का जिल्लास्तरीय नेता, जिल्लास्थित सुरक्षाकर्मी, स्थानीय र युवा विद्यार्थीले बिहानैदेखि तारजाली लगाएर बाङबगड क्षेत्रमा खोला फर्काउने प्रयास गरिरहेका छन् ।
बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुंगा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यक्ता रहेको मन्त्री बडूले बताए । उनले भने, ‘अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गरौं ।’
नदीको बहाव कम हुने बित्तिकै बजारको कटान रोकिन्छ । यो सबैको साझा दायित्व हो । बजार क्षति भयो भने फेरि दर्जनौ घर तथा पसलमा क्षति हुने देखिन्छ ।
बाङाबगड क्षेत्रको खानेपानी ट्यांकी नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुंगा भर्ने काम भइरहेको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले बताए ।
स्थानीयको सहभागितामा बिहानबाटै ढुंगा जाली भर्न थालिएको छ । माथिल्लो बाङाबगड नजोगाउने हो भने पूरै बजार विस्थापित हुने अवस्था रहेको छ । शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिरोका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका दश जना अझै भेटिएका छैनन् ।
महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने दश जना बेपत्ता छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij