Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पाँचखालमा सघन शहरी विकास कार्यक्रम लागू

पाँचखालमा सघन शहरी विकास कार्यक्रम लागू

  • 363
    SHARES
  • पाँचखालमा सघन शहरी विकास कार्यक्रम लागू

    काभ्रे । पाँचखाल नगरपालिकामा सघन शहरी विकास कार्यक्रम लागू गरिएको छ । यसका लागि शहरी विकास मन्त्रालयद्वारा प्रशासनिक प्रक्रिया अघि बढाइएको हो ।

    सरकारले ग्रीन स्मार्ट-सिटी निर्माणार्थ गत वर्ष फागुनमा मन्त्रालयको सघन शहरी विकास कार्यक्रमअन्तर्गतको उक्त कार्यक्रम लागू गर्न ५० करोड बजेट विनियोजन गरेको थियो ।

    सोही कार्यक्रमअन्तर्गत मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकामध्ये पाँचखाल नगर पनि परेको हो । कार्यक्रम लागू गर्न शहरी विकास तथा पूर्वाधार निर्माण कार्यालयले टेण्डर आह्वान गरिसकेको छ ।

    पाँचखाललाई प्राप्त बजेटमध्ये ५० प्रतिशत सडकमा, ३० प्रतिशत आयआर्जन, १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ ।

    कार्यक्रमअन्तर्गत बसपार्क निर्माण, मिनी-मार्केट, हाट बजार तथा नगरका सडक तथा नाली थप व्यवस्थित गराइने छ । नगरपालिकाले यसमा समन्वयात्मक भूमिका र सहजीकरण गर्नेछ । 

    कार्यक्रमले नगरको ‘ग्रीन स्मार्ट-सिटी’को योजनालाई थप मद्दत गर्ने नगरप्रमुख महेश खरेलले बताए । उनले भने, ‘चालु आवमा ग्रीन स्मार्ट सिटीको डिपीआर सकेर निर्माण थाल्ने योजनामा छ ।’

    यसअघिनै नगरले नेपालमै पहिलो ग्रीन स्मार्ट-सिटी निर्माणका लागि आर्थिक वर्ष २०७९/८० मा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी निर्माण कार्य थालनी गर्ने योजना बनाएको थियो ।

    यसका लागि नगरले विदेशी कम्पनीसँग सम्झौता गरी प्रक्रिया थालिसकेको छ । गत वर्षको फागुन पहिलो साता पाँचखाल नगरमा विकास गरिने ग्रीन स्मार्ट सिटीका लागि सिंगापुरको सुरबाना जुरोङ (एसजे) समूहको सदस्य एसएमइसी इनटरनेशनल प्रालि (एसएमइसी)बीच निर्माणको सम्झौता गरिसकिएको छ ।

    समझदारीपत्रमा सिंगापुरको ग्लोबल सहरी पूर्वाधार परामर्श फर्मसमेत रहेको एसजेको सदस्य एसएमइसीले प्रस्तावित काभ्रेपलाञ्चोकको पाँचखालमा स्मार्ट सिटी निर्माण गर्न आवश्यक प्रारम्भिक अध्ययन, परियोजनाको संरचनागत खाका एवम् अन्तर्राष्ट्रियस्तरमा सफल अभ्यास अध्ययन-विश्लेषणसम्बन्धी कार्य गर्ने जनाइएको छ ।

    यसका लागि पाँचखाल नगरले स्थानीयसँग जग्गा प्राप्तिका लागि आवश्यक सहजीकरण गर्नेछ । सम्झौताअनुसार काठमाडौंस्थित इन्फ्राक्स्चर बैंक लिमिटेड (निफ्रा)ले स्मार्ट सिटीको ‘बजार अध्ययन’का लागि अमेरिकन परामर्शदाता कम्पनी जोन्स लाङ लासेल प्रोपर्टी कन्सल्टेन्टस् प्रालिसँग गत वर्ष सम्झौता भएको छ ।

    निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ । करिब पाँच हजार पाँच सय रोपनी क्षेत्रफल ओगट्ने स्मार्ट सिटीका लागि निफ्राले पाँचखाल नगरसँग एक वर्षअघि सार्वजनिक-निजी साझेदारीमा (सबल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवम् सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।

    उक्त सम्झौतामा व्यवस्थित गर्नुपर्ने पूर्वाधारलगायत निजी-साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सातबुँदा उल्लेख गरिएको हो । उक्त क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पर्वाधार निर्माणार्थ करिब २ अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    कूल क्षेत्रफलमध्ये ६ सय ५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ । ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काम सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख खरेलले बताए ।

    उनका अनुसार निफ्राले पाँचखाल स्मार्ट सिटीका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिइरहेको छ । ‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्धक बनाउन नगरले यसअघिनै पाँचखालको खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ ।

    खेतीयोग्य जमिन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गर्ने नगरको योजना छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij