वेबटिभी खबर
तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका-३ द्वारा आयोजित घुम्ती शिविरको चौथो दिन शारीरिकरूपमा अशक्त र अपाङ्गता भएका व्यक्तिलाई घरमा पुगेर कोभिडविरूद्धको खोप र अन्य स्वास्थ्य सेवा दिन थालेपछि म्याग्देवासी खुसी भएका हुन् ।
गाँउपालिकाले २८ वर्षीय कृष्णबहादुर थापा, सोही ठाउँ बस्ने वर्ष ३३ का बिहिसरा थापा र २९ वर्षीय नारायणबहादुर हुन्चिङलगायतको घरमा स्वास्थ्यकर्मी पुगेर कोभिडविरूद्व खोप दिएको हो ।
स्पाइनल इन्जुरीका कारण पूर्णरूपमा शारीरिक अपाङ्गता भई ओछ्यानमा रहेका २९ वर्षीय नारायणबहादुर हुन्चिङले कोभिड खोप र स्वास्थ्य सेवा पाउँदा खुसी हुँदै सामान्य व्यक्तिभन्दा पनि अपाङ्गता भएको व्यक्तिलाई यसैगरी सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
अपाङ्गता भएका व्यक्ति वडा र पालिकामा आउन नसक्ने र घुम्ती शिविरमा आएर पनि स्वास्थ्य सेवा लिन नसक्ने भएकाले निजहरूको घर-घरमा गएर खोप लगाइदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।
एकीकृत घुम्ती सेवामार्फत घर-घर र टोल-टोलमा पुगेर सेवा दिँदा म्याग्देवासीमा खुसी भएको उनले बताए ।
चौथो दिनसम्ममा सात स्थानमा शिविर सम्पन्न हुँदा कोभिड १९ विरूद्ध वयस्क फाइजर खोप दुई सय ६७ ले लगाएकामा १७ जनाले पहिलो मात्रा, १८ जनाले दोस्रो मात्रा र दुई सय ३२ ले तेस्रो (बुस्टर) मात्रा खोप लगाएका स्वास्थ्य शाखा प्रमुख दिनेश पण्डितले बताए ।
वडा नं-१ को मान्हौँ, गुणादी र बाख्रे, वडा नं-२ को गुञ्जारा, जामुने, ऋषिथुम र पिपलडिहीसमेत गरी सात स्थानमा घुम्ती शिविर सम्पन्न भइसकेको छ । उक्त शिविर यही असोज २ देखि ३१ गतेसम्म चल्ने गाउँपालिका कार्यालयले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij