वेबटिभी खबर
झापा । झापामा डेंगुका संक्रमिण बढ्दै गएका छन् । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु तथा महामारी ‘फोकल पर्सन’ वीरेन्द्र दासले जानकारी दिए ।
‘यसअघि जिल्लाका केही पालिकामा मात्र डेंगु संक्रमण देखिएको थियो’, उनले भने, ‘पछिल्लो समय डेंगु संक्रमण बढ्दै गएको छ ।’ संक्रमितमध्ये पुरुष ४५ जना र महिला ३४ जना छन् ।
हल्दिबारीमा सबैभन्दा धेरै १६ जना संक्रमित फेला परेका छन् । यस्तै मेचीनगरमा १०, बुद्धशान्तिमा ७, अर्जुनधारामा १, कनकाईमा ८, कमलमा ६, दमकमा ७, गौरादहमा १, झापामा ३, बिर्तामोडमा १४, भद्रपुरमा ४ र कचनकवलमा २ जनामा डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लाका १५ वटै पालिकालाई ३०/३० थान कीट वितरण गरिएको फोकल पर्सन दासले बताए । आवश्यकता अनुसार पालिकाले आफैँ कीट किन्ने व्यवस्था भएकाले पालिकाले आफैँ खरिद गर्ने उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत यही असोज १०/१२ गते कीट आउने जानकारी आएको र आएपछि थप कीट वितरण गरिने कार्यालयले जनाएको छ । यता, जिल्लाका सबै पालिकाले लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij