वेबटिभी खबर
तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका-७ मा पसाउने बेला धानमा रोग लागेपछि किसान चिन्तित भएका छन् । धान पसाउने समयमा रोग लागेर धान मर्न थालेपछि यहाँका किसान चिन्तित भएका हुन् ।
यहाँका करिब ५० कृषकले तीन सय रोपनी क्षेत्रमा लगाएको धानबालीमध्ये एक सय ७० रोपनीमा रोगको प्रकोप फैलिएको छ । रोग लागेको धानलाई यसै छाडे अर्को वर्ष पनि यस्तै हुने हो कि भन्ने डरले समस्या फैलिएको ठाउँमा आगो लगाउने सोच बनाएको कृषकले बताएका छन् ।
‘अँधियामा गरेको धानखेतमा एक्कासी रोग लाग्यो, दुःख गरेर लगाएको धानबालीमा रोग लागेपछि धान उत्पादन नहुने भयो’, तनहुँको म्याग्दे गाउँपालिका-७ निवासी कोपिला नेपालीले भनिन्, ‘वर्षभरि खाने अन्न उत्पादन नहुँदा अब के गर्ने भन्ने समस्या थपिएको छ ।’
छ रोपनीमा लगाएको धान अधिकांश रोग लागेर मरेको छ । औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण नभएको उनको गुनासो छ । ‘गाउँपालिका, कृषि ज्ञान केन्द्रमा पनि समस्याका बारेमा जानकारी गरायौँ, रोगको पहिचान हुन सकेन’, उनले भनिन्, ‘प्राविधिकले दिएको औषधि प्रयोग गर्दा पनि रोग नियन्त्रण भएन ।’
सोही ठाउँ निवासी कृषक गंगा वाग्लेको चार रोपनी खेतमा लगाएको धानबालीमा पनि रोगको समस्या फैलिएको छ । ‘वर्षभरि खाने धान हो, दुःख गरेर लगायौं, यो वर्ष त मल अभाव पनि ज्यादा भयो’, उनले भनिन्, ‘रोगको समस्याले धान उत्पादन नै घट्ने भयो, राज्यले कृषकको समस्या बुझिदिनुपर्छ ।’
वर्षभरि खाने अन्न नष्ट हुने भएपछि सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्ने कृषक पुरुषोत्तम भण्डारीले बताए । ‘वर्षभरि खाने अन्न हो, सबै नष्ट भयो, सरकारले कृषकलाई क्षतिपूर्ति दिनुपर्छ’, उनले भने ।
म्याग्दे गाउँपालिकाका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले धानमा ‘मेली बग’को समस्या देखिएको जानकारी दिइन् । ‘झट्ट हेर्दा जिंकको कमीले हुने राते रोगको प्रकोप जस्तो देखिने भएता पनि सुरुमा जिंक हाल्दा पनि सुधार भएन’, उनले भनिन् ।
‘हामीले धानखेतको अवलोकनपश्चात नेपाल कृषि अनुसन्धान परिषद्को सल्लाहबमोजिम औषधि उपलब्ध गराएका थियौं ।’ औषधि प्रयोगपश्चात केही ठाउँमा सुधार आए पनि कुनैमा भने सुधार नभएको उनको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij