Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

बेमौसमी वर्षाले सर्वत्र क्षति

बेमौसमी वर्षाले सर्वत्र क्षति

  • 322
    SHARES
  • बेमौसमी वर्षाले सर्वत्र क्षति

    म्याग्दी । विगत पाँच दिनदेखिको अविरल बेमौसमी वर्षाका कारण नेपालीको महान् चाड बडादसैँ निरसिलो बनेको छ । लामो बेमौसमी वर्षाले म्याग्दीको जलविद्युत्, सडक र कृषिमा ठूलो क्षति पुगेको छ भने ग्रामीण जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।

    वर्षाका कारण ठाउँठाउँमा बाढी र पहिरो आउँदा स्थानीयवासी त्रस्त भएका छन् भने दसैँ मनाउन आफन्तकोमा जाने आउने सर्वसाधारण घरभित्र नै गुम्सिएर बस्न बाध्य भएका छन् ।

    बेमौसमी वर्षापछि आएको बाढीले जिल्लाको धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको ३५ किलोवाट क्षमताको इङ्लेखोला लघुजलविद्युत्को मुहान बगाएपछि विद्युत् सेवा अवरुद्ध भएको छ ।

    लघुजलविद्युत् अवरुद्ध भएसँगै गुर्जामा रहेका दुई सय ६५ घरधुरी अन्धकार बनेका छन् ।

    केन्द्रीय विद्युतको पहुँच नपुगेको र लघुजलविद्युत् अवरुद्ध बनेसँगै स्थानीयवासीले रातमा बत्ति बाल्न पाएका छैनन् भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

    ग्रामीण सडक अवरुद्ध

    गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण म्याग्दीका सम्पूर्ण ग्रामीण सडक अवरुद्ध भएपछि दसैँमा टीका लगाउन र आशिर्वाद लिन जाने आउनेको विजोग भएको छ ।

    छाता र प्लाष्टिक ओढेर नजिकका आफन्तसँग मात्र टीका लगाएर चित्त बुझाउन बाध्य हुनुपरेको सर्वसाधारणको भनाइ छ ।

    ग्रामीण सडक मात्रै होइन राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, बेनी–दरबाङ सडकलगायत म्याग्दी जोड्ने सबै सडक अवरुद्ध छन् ।

    चार दिनदेखिको अविरल वर्षाले दसैँका टीका लगाउन र आशिर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ ।

    यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदल, छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन् ।

    वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने म्याग्दीका बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत एक दर्जन बढी सडक बाढी र पहिरोका कारण अवरुद्ध भएका सम्बन्धित स्थानीयतहका जनप्रतिनिधिले बताएका छन् । कतिपय स्थानमा सडक भासिएको छ ।

    मूल फुटे, खोला बढे, छहरा र झरना देखिए

    मध्यअसारको लक्षण असोजको अन्तिम सातामा देखिँदा स्थानीयवासीले अचम्म मानेका छन् । असारमा पानी नपरेर कमिला हिँडेका खोला र खहरे अहिले वारपार गर्नै नसकिने गरी उर्लिएका छन् ।

    असारमा नभएको बाढी र पहिराको त्रास असोजमा खेप्न बाध्य भएको बेनी नगरपालिका–२ का ८९ वर्षीय बेदप्रसाद उपाध्यायले बताए ।

    त्यसैगरी असारमा नदेखिएका झरना र छहरा असोजको अन्तिम साता देखिएका छन् । पाक्ने बेलाको धान खेत पानीले भरिएको छ भने घरभित्र समेत पानी पसेर स्थानीयवासी बस्नै नसक्ने अवस्थामा पुगेका छन् ।

    सडकमा चल्दैनन् गाडी, खोलो बग्छ

    दसैँको बेला भए पनि म्याग्दीका ग्रामीण सडक सुनसान छन् । सडकमा गाडी चल्ने अवस्था छैन । खोलो बगेर सडक छियाछिया भएकाले मानिस सास्ती खेप्दै पैदलयात्रा गर्न बाध्य छन् ।

    सदरमुकाम बेनी बजारदेखि ग्रामीण भेगमा सञ्चालित सडकको अवस्था अत्यन्त दयनीय बनेको छ । सडकमा भेल बगेको छ भने सडक लच्किएर पैदल हिँड्नसमेत समस्या भएको स्थानीय रामबहादुर विकले बताए ।

    म्याग्दीको सदरमुकाम बेनी बजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात वटा सडकको अवस्था अत्यन्तै नाजुक र जीर्ण भएको छ ।

    बेमौसमी वर्षा, बाढी पहिरो र मर्मतसम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने सडकमै पोखरी बन्ने गरेको छ ।

    बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगरफाँट–भकिम्ली, बेनी–हाँडेभीर–बरङ्जा, बेनी–भकुण्डेलगायत सडक दयनीय अवस्थामा छन् ।

    प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकन जथाभावी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय रहेको छ ।

    यहाँका कतिपय सडकमा सामान्य पानी पर्दा पनि मोटरसाइकलसमेत गुड्न नसक्ने स्थानीयवासी राजकुमार सुवेदीले बताए ।

    पाक्ने बेलाको धान खेतमै ढल्दा किसान चिन्तित

    म्याग्दीमा बेमौसमी वर्षा र हावाहुरीका कारण सयौँ हेक्टर जमिनमा गरिएको धानबालीमा क्षति पुगेको छ ।

    असोज १७ गते रातिदेखि अहिलेसम्म अविरलरुपमा भएको वर्षा र हावाहुरीका कारण पानीले भिजेर र हावाहुरीले धानका बोट ढलाएर धानबालीमा क्षति पुगेको स्थानीय तहका कृषि प्राविधिकले जनाएका छन् ।

    पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएर र पानीले भिजाएर क्षति पुर्‍याएको हो । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लाभर तीन हजार आठ सय ९२ हेक्टर जमिनमा धान खेती हुन्छ ।

    जिल्लाको लेकाली क्षेत्रमा पाकेर काट्ने बेलाको धान लगातारको वर्षाले भिजेर खेतमा नै धानको दाना झरेका कारण क्षति पुगेको छ भने तल्लो क्षेत्रमा पाक्नै लागेका धानको बोट हावाहुरीले ढलाएपछि दाना पोटिलो नहुनाका साथै खेतमा नै दाना झरेकाले उत्पादन कम हुने देखिएको छ ।

    जिल्लाका रत्नेचौर, बगरफाँट, फापरखेत, गरापानी, खबरा, सीम, बाबियाचौर, पुलाचौर, अर्मन, कुहूँ, देवीस्थानलगायत ठाउँमा लगाइएको धानबालीमा क्षति पुगेको स्थानीय कृषकले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij