वेबटिभी खबर
काठमाडौं । सत्तारुढ गठबन्धनले सर्लाही-२ मा नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादव आधिकारिक उम्मेदवार भएको जनाएको छ ।
बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै यादव गठबन्धनको उम्मेदवार रहेको स्पष्ट पारेका हुन् ।
सर्लाही-२ मा लोसपाका राजेन्द्र महतो पनि उम्मेदवार बनेका छन् । चारदलीय गठबन्धन र लोसपाबीच मधेस प्रदेशका सात निर्वाचन क्षेत्रमा तालमेल भएको छ । सत्तारूढ गठबन्धनको यो निर्णयसँगै महतोकाे जित संकटमा परेकाे छ ।
गठबन्धनबाट जनता समाजवादी पार्टी(जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जोडिएको छ ।
यस्तै सर्लाही-२ (क) मा सुनिल साह र (ख) मा कौशलकिशोर यादव आधिकारिक उम्मेदवार रहेको विज्ञप्तिमा जनाइएको छ । गठबन्धनले आगामी निर्वाचनमा दलहरूबीचको सहमतिअनुरुप सम्बन्धित पार्टीको निर्देशन मानेर बागी उम्मेदवार फिर्ता लिएकोमा सबैलाई धन्यवाद दिएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij