वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले परित्याग गरेर रूपन्देही क्षेत्रनम्बर-१ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र विकासको कुरा गरेर दुनियाँ हँसाउने गरेको टिप्पणी गरेका छन् ।
एमाले अध्यक्ष ओलीको विकास नीतिलाई ‘भ्यू टावरे विकास’को संज्ञा दिँदै नेता भुसालले लोकतन्त्र र विकासको विषयलाई ओलीले मजाक बनाएको आरोप लगाए ।
उनले भने, ‘ओलीले लोकतन्त्र र विकासको कुरा गर्दा मान्छे आजभोली हाँस्छन् । डाँडामा भ्यू टावर बनाउने ओलीको विकासको भाष्यले राज्यको साधन स्रोतको अनावश्यक खर्च मात्रै हुन्छ । बन्नुपर्ने ठाउँमा बन्दैन, नबन्नुपर्ने ठाउँमा बनिरहेको हुन्छ । यसले हाम्रो जस्तो गरिब मुलुकको गरिब जनताको अनावश्यक खर्च दोहन गर्ने गर्छ ।’
अहिलेको चुनावी व्यवस्थाले नै दलहरूबीच गठबन्धन बनाउनुपर्ने अनिवार्य परिस्थिति खडा गरिदिएको बताउँदै भुसालले संविधान जोगाउनको लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको बताए ।
अहिलेको वाम लोकतान्त्रिक गठबन्धन संविधान जोगाउनेहरूको भएको उनकाे भनाइ छ । रूपन्देही क्षेत्रनम्बर-१ मा विकासका नाममा निर्माण हुने पूर्वाधारहरूलाई उत्पादन र रोजगारीमा जोड्नुपर्ने भुसालको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij