वेबटिभी खबर
काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज हुँदैछन् । यसको लागि दुवै कम्पनीले कात्तिक २८ गते साधारणसभा बोलाएका छन् ।
जसमा सूर्या लाइफको सभा होटल हैरिसन प्सालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ९ बजे सुरु हुनेछ । यस्तै ज्योति लाइफको सभा वाटरफ्रन्ट रिसोर्ट, लेकसाईड पोखरामा बिहान ११ बजे सुरु हूनेछ ।
सभाले मर्जर प्रयोजनको लागि स्वाप रेसियो प्रस्ताव पनि पारित गर्नेछ । जसमा सूर्या लाइफ इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर ज्योति लाइफको ८२ कित्ता शेयर अनुपात कायम हुनेछ । दुवै एक भएपछि कम्पनीको नाम सूर्याज्योति लाइफ इन्स्योरेन्स राख्ने प्रस्ताव पनि सभामा पेश हुँदैछ ।
हाल सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का छ । सूर्या लाइफ र ज्योति लाइफ एक आपसमा गाभिने भएपछि दुवैको असार १३ गतेदेखि शेयर कारोबार रोक्का गरिएको हो ।
यी दुई कम्पनीबीच असार १२ गतेमर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बिमा समितिको निर्देशनपछि अहिले बिमा कम्पनीहरु पुँजी वृद्धिको दबाबमा छन् । बिमा समितिको चैत १० गतेको निर्देशनअनुसार एक वर्षभित्रै निर्जीवन बिमा कम्पनीले २ अर्ब ५० करोड रुपैयाँ र जीवन बिमा कम्पनीहरुले ५ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनपर्ने हुन्छ ।
हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij