वेबटिभी खबर
बाग्लुङ । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता हराउँदै गएको छन् ।
तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने समूहले बालबालिकादेखि बुढापाकासम्मलाई मनोरञ्जन त दिएका छन् । तर आधुनिक शैली अंगाल्दा मौलिकता भने गुमाउँदै गएको छ ।
देउसी र भैलोमा बज्नुपर्ने मादल, खैजडी र बाँसुरीको साटो अचेल रेकर्डेड पप, आधुनिक र र्याप गीत बज्न थालेका छन् । साथै, सोरठी र मारुनी जस्ता नृत्यको स्थान आधुनिक शैलीको नाचले लिएको छ ।
यमपञ्चक सुरु भएपछि बाग्लुङ बजारका चोकचोकमा देउसी, भैलो खेल्नेको भिड छ । तर उनीहरूले गाउने गीत र नाचमा कुनै मौलिकता देखिन्न । बाग्लुङ बजारका ७८ वर्षे देवबहादुर श्रेष्ठ परम्परागत देउसी र भैलोलाई आधुनिकताले प्रभावित पारेकोमा चिन्ता व्यक्त गर्छन् ।
पश्चिमा संस्कृतिले नेपालको मौलिकता मेटाउन लागेको भन्दै उनले भने, ‘अहिलेको गीतमा मौलिकता कत्ति पनि छैन, मादल, बाँसुरी र खैजडी बजाएर गरिने मारुनी र सोरठीको नाच अब कहाँ हेर्न पाउनु ?’ आधुनिक प्रविधिको विकास र देखासिकीका कारण मौलिकता हराएको उनको बुझाइ छ ।
‘हामीमा मौलिकता जोगाउने भन्ने भावना विकास नै भएन, अरुको देखासिकी गर्ने बानीले कैयौं संस्कृतिहरू लोप भइरहेका छन्’, उनले भने । स्थानीय ६५ वर्षीय भूदर्शप्रसाद श्रेष्ठले आधुनिक शैलीको देउसी र भैलोका कारण नेपालीको पहिचान नै गुम्ने अवस्था आउन लागेको जानकारी दिए ।
मौलिक कला, संस्कृतिको संरक्षणतर्फ युवापुस्ताको चासो बढ्नुपर्ने उनको भनाइ छ । उनले रेकर्ड गरिएका गीतले मौलिक सोरठी, मारुनी, थाली, कौरा, सिरफुले, सालैजो जस्ता गीत र नृत्य ओझेलमा परेको बताए ।
श्रेष्ठले विदेशी संस्कृतिको अनुशरण गरे पनि मौलिक देउसी, भैलोको खास, महत्व र मर्म भने हराउन दिन नहुने बताए । तर पछिल्ला वर्षमा पैसा संकलन गर्नका लागि विदेशी गीत, संगित र नाचको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।
‘प्रविधिको विकाससँगै आफूलाई परिमार्जित गर्नु राम्रो हो, तर आफ्नो मौलिकतालाई भुल्नु भनेको पहिचानलाई संकटमा पार्नु हो, नयाँ पनि सिकौं, अनुशरण गरौं र पुरानोलाई पनि संरक्षण गरौं भन्ने भवना युवापुस्तामा भएन भने भोलि विदेशी र हामीमा केही भिन्नता हुने छैन’, श्रेष्ठले भने ।
‘नेपालीको पहिचान विश्वभर छ, त्यसैले विदेशी जस्तो नभई हाम्रो मौलिकतामा पनि रमाउन सक्नुपर्छ ।’ स्थानीय ३० वर्षीय लक्षु पुनमगरले मौलिकतालाई जोगाउन युवापुस्ता नै लाग्नुपर्ने बताए । उनले बुढापाका मौलिकताको खानी भएको भन्दै उनीहरूबाट युवापुस्ताले ग्रहण गर्नुपर्ने जानकारी दिए ।
पुनमगरले भने, ‘अग्रजलाई सधैँ सम्मान गर्न पर्छ, उहाँहरूमा संस्कृतिका बारेमा धेरै ज्ञान छ, हामीले सिक्न सकिरहेका छैनौँ, धेरैलाई पुराना संस्कृतिका बारेमा थाहा नहुँदा पश्चिमा संस्कृतिको सिको गरेका हुन् ।’
पुनले अहिले देउसी, भैलोमा अधिकांश आधुनिकता मिसिए पनि थोरै मौलिकता भने रहिरहेको दाबी गर्छन् । बढ्दो प्रविधिको विकासले गर्दा नयाँपुस्ताले मौलिक परम्पराको संरक्षण गर्न नसकेको बताउछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij