Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

गाउँबाट लोप हुँदै परम्परागत घर

गाउँबाट लोप हुँदै परम्परागत घर

  • 372
    SHARES
  • गाउँबाट लोप हुँदै परम्परागत घर

    म्याग्दी । ग्रामीण क्षेत्रमा यातायातको पहुँच र विप्रेषणबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिँदै जान थालेका छन् भने खरले छाएका घर लोप भएका छन् ।

    डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र शहर बजारबाट जो कोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे ।

    रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्ने गरेको पाइन्थ्यो । उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन।

    जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणका क्रम बढेको स्थानीय बूढापाकाको भनाइ रहेको छ ।सडकको प्रभावित पुराना परम्परागत घरमा परेको उनीहरूको बुझाइ छ ।

    परम्परागत घर र ढुंगे घर गाउँबाट विस्तारै ओझेलिँदै छन् । अहिले गाउँमा धमाधम सिमेन्ट र कंक्रिटका घर ठडिँदै गएका छन् । सक्नेले पक्की पिल्लर घर बनाएका छन् त न्यून वर्गका नागरिकले खर र ढुंगाको छानो हटाएर जस्तापाताले घर छाउन थालेका छन् ।

    यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पुर्‍याएको छ । म्याग्दीको बेनी नगरपालिका-२ ज्यामरुककोटा, मालिका गाउँपालिका-७ बिम, रघुगङ्गा गाउँपालिका-६ पाखापानीलगायतका विभिन्न बस्तीमा पाँच वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुंगा र केही खरले छाइएका थिए ।

    तर अहिले ती बस्तीमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रङका जस्तापाताले छाएर घर रङ्गीचङ्गी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घर कम पाइन्छन् ।

    गाउँमा सडक आएपछि गाउँलेले शहर बजारियाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताए । उनले भने, ‘डेढदशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुंगा र खरले छाएका थिए, गाडी आउने बाटो पनि थिएन, अहिले ती सबै घर लोप भइसके ।’

    बेनी नगरपालिका-४ सिँगामा पनि करिब एकदशक अगाडिसम्म ढुंगे घर टन्नै थिए । तर अहिले ढुंगाका घरले भएका ठाउँमा ठूलाठूला कंक्रिटका घर ठडिएका छन् । सडक सिंगामान पुग्दा धेरैको घर ढुंगाले नै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवन बनाउन थालेको स्थानीय केशव पौडेलले बताए ।

    गाउँमा सडक आएपछि धेरै मानिसले बजारबाट सहजरूपमा घर निर्माण गर्ने सामान ल्याउनसक्ने भएपछि ठूलाठूला भवन बनाउन थालेका छन् । पौडेलले यहाँका धेरै जसो मानिस विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुंगाको घर विस्थापित गरी पक्की घर बनाउन थालेको जानकारी दिए ।

    विदेशमा कमाएको पैसा म्याग्दीमा धेरै जसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्यांक छ । घर, घडेरी र मोजमस्तीमा नै धेरैजसो पैसा खर्च हुने गरेको पाइएको छ ।

    यहाँका मान्छे सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूलाठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको छ, दिनदिनै सिमेन्टका घर ठडिरहेका छन्, एक/दुई वर्षमा यहाँ ढुंगाका घर पनि देख्न नपाइने स्थानीय बासिन्दाको अनुमान रहेको छ ।

    सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घर विस्थापित भएको स्थानीयको भनाइ छ । शहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीकाअनुसार मानिस सजक र सचेत हुँदै गएको हुँदा नयाँ-नयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन् ।

    परम्परागत घर भू-कम्पीय दृष्टिकोणले केही जोखिम हुने जनाउँदै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij