वेबटिभी खबर
बाग्लुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली दुई तिहाइ जनमत सम्हाल्न असफल भएको आरोप लगाएका छन् । आइतबार बडिगाड गाउँपालिका वडा नम्बर ९ र १० मा साझा गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले ओलीले दुई तिहाइको जनमत सम्हाल्न असफल भएको आरोप लगाएका हुन् ।
‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मास्न खोज्नुभयो,’ मन्त्री पौडेलले भने,‘जनमतबाट प्राप्त भएको दुई तिहाइको सरकार सञ्चालन गर्न उहाँ असफल हुनभयो ।’
उनले लोकतन्त्र र परिर्वतनको पक्षमा उभिन्न आग्रह गर्दै गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । ‘अब बन्ने सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्छ’, उनले भने, ‘राजनीतिक स्थायित्वको लागि चुनावपछि गठबन्धनको सरकार बन्छ ।’
मन्त्री पौडेलले बाँचुन्जेल बाग्लुङको विकासका लागिपरिरहने विश्वास व्यक्त गरे । बाग्लुङ जिल्ला सुरुङमार्गको युगमा प्रवेश गरेको बताउँदै अहिल नै सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट छुट्याएको बताए ।
आफू मन्त्री भएपछि जिल्लाका अधिकांश विद्यालयको भौतिक संरचना बनेको बताउँदै ५ वर्षको अवधिमा पूरा नभएका वाचाहरू अब पूरा गर्ने विश्वास व्यक्त गरे । उनले गलकोटमा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि निर्णय भएको बताउँदै जग्गा प्राप्तिपछि १ अर्ब १५ करोडको भौतिक संरचना बन्ने बताए ।
सरकारले ९६ प्रकारका निःशुल्क औषधिसहित प्रत्येक स्थानीय तहमा पालिकास्तरीय अस्पताल बनाउने चरणमा रहेको बताउँदै १२ कक्षासम्म शिक्षा निःशुल्क बनाउने आश्वास दिए ।
बाग्लुङ–२ प्रदेश (क) का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार जीतबहादुर शेरचनले बाग्लुङ २ को विकासका लागि साझा गठबन्धनका उम्मेदवार एक भएर लाग्ने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij