Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

रोग लागेपछि मार्सी धान आगो लगाएर नष्ट गर्दै किसान

रोग लागेपछि मार्सी धान आगो लगाएर नष्ट गर्दै किसान

  • 434
    SHARES
  • रोग लागेपछि मार्सी धान आगो लगाएर नष्ट गर्दै किसान

    जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् ।

    ब्लाष्ट रोगको संक्रमणले धान सखाप भएपछि आगो लगाउने बाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताए । धान भित्र्याउन खेतमा पुगेका गौतमवाडाका किसानले धानको बाला नै नलागेपछि परालमा आगो लगाएका हुन् ।

    ‘गएको वर्ष १५ देखि १६ बोरा धान उत्पादन हुन्थ्यो । ब्लाष्ट रोगले धानको बालामा क्षति गरेको छ । उन्नत जातको धान रोप्दा चार बोरा मात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भए ।’ स्थानीय खगेन्द्र खत्रीले भने ।

    धानबाली सखाप भएपछि परिवारको जीविकोपार्जन गर्न कठिन भएको त्यहाँका किसानको गुनासो छ । मार्सी धानले बाह्रै महिना खान पुग्ने भएकाले चामल किन्न बजार नगएका यहाँका स्थानिय पहिलो पटक बजारकाे चामलको भात खानु परेको बताउँछन् ।

    जेठको पहिलो साता मार्सी धानको रोपाइँ भएको थियो । धान उत्पादन नहुँदा उक्त गाउँका ६० घरधुरीलाई यो वर्ष खाद्यान्न अभाव हुने देखिएको गौतमवाडावासीले बताए ।

    तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले गौतमवाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानको राहतका लागि पालिकाले पहल गर्ने बताए ।

    धानमा रोग फैलिएको सूचना पाएपछि कृषि प्राविधिकसहित जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीसमेत किसानको खेतमा पुगेका थिए । किसानलाई विषादी छर्न अनुरोध गरिए पनि विषादीले कामै नगरेको प्रमुख अधिकारीको भनाइ छ ।

    मार्सी धानमा ब्लाष्ट रोगको संक्रमण भएको छ । उन्नत जातको उक्त धानमा यो रोगको खासै समस्या छैन तर मार्सी धानले किरा खप्न नसक्दा बढी क्षति हुने गरेको छ ।

    प्रमुख अधिकारीले भने ‘धानको नमूना ल्याएर कृषि अनुसन्धान केन्द्रमा पठाएका थियौँ, केन्द्रले त्यसको विवरण कृषि अनुसन्धान परिषद्मा पठायो, कृषि वैज्ञानिकको परामर्शमा प्राविधिक पठाएर चुना र निलोथुतो छर्न लगायौँ तर धानमा लागेको रोग नियन्त्रणमा आएन् ।’

    जुम्लामा दुई हजार नौ सय हेक्टरमा धानखेती हुँदै आएकामा एक हजार हेक्टरमा मार्सी धानको खेती गरिँदै आएको छ । यो वर्ष जिल्लाको कूल धान उत्पादनको तथ्यांक संकलन गर्ने काम भइरहेको उक्त कार्यालयले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij