Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

सन्दर्भ विश्वविज्ञान दिवस : समाजका लागि विज्ञानको आवश्यकता [विचार]

सन्दर्भ विश्वविज्ञान दिवस : समाजका लागि विज्ञानको आवश्यकता [विचार]

  • 511
    SHARES
  • सन्दर्भ विश्वविज्ञान दिवस : समाजका लागि विज्ञानको आवश्यकता [विचार]

    सामाजिक आर्थिक रूपान्तरणमार्फत मुलुकलाई समृद्ध बनाउन विज्ञान र प्रविधिको अहम् भूमिका रहेको तथ्य सर्वस्वीकार्य छ । राष्ट्रको सर्वाङ्गीर्ण विकासका लागि विज्ञान तथा प्रविधिको विकास र उपयोगको महत्त्वपूर्ण भूमिका रहन्छ । विश्वमा विकसित राष्ट्रहरूको विकासको मूल आधार नै समयसापेक्ष प्रविधिको विकास रहेको पाइन्छ ।

    images

    जहाँ विज्ञान र प्रविधिको विकास, प्रवर्द्धन र उपयोग भएको छ, त्यहाँको विकासको दर उच्च रहेको छ । नेपालमा समयसापेक्ष र जनताको समस्या समाधान गर्न सक्ने किसिमले विज्ञान र प्रविधिको विकास र प्रयोग हुन सकिरहेको छैन । राज्यको सर्वाङ्गीण विकासको गतिलाई तीव्रता दिन, राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उपलब्ध ज्ञान, विज्ञान र प्रविधिको समुचित उपयोग गर्नसक्ने क्षमताको अभिवृद्धि गर्नु जरूरी देखिन्छ । वैज्ञानिक ज्ञानको प्रयोगले गुणस्तरीय जीवन प्राप्ति भएको उदाहरण संसारका विज्ञान र प्रविधि क्षेत्रमा अग्रणि मुलुकहरूको विकसित स्थितिबाट प्रष्ट हुन्छ । नेपालको संविधानले पनि वैज्ञानिक अध्ययन अनुसन्धानमार्फत दिगो विकासमा लक्ष्यहरू प्राप्त गर्न जोड दिइएको छ ।

    वि.सं. २०७६ मा ल्याइएको राष्ट्रिय विज्ञान प्रविधि र नवप्रवर्तन नीतिलेसमेत तथ्यमा आधारित अनुसन्धानमा जोड दिदै जनचेतना अभिवृद्धि गर्ने र समाजमा विद्यमान अन्धविश्वास र कुरीतिलाई निर्मूल गर्ने रणनीति निर्धारण गरेको पाइन्छ । यस सन्दर्भमा नेपालमा विज्ञान र प्रविधि क्षेत्रका कार्य गर्ने सर्वोच्च निकाय नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्थापनादेखि निरन्तररूपमा समाजमा वैज्ञानिक चेतना अभिवृद्धि गर्ने, जनतालाई वैज्ञानिक ज्ञानद्वारा सुसूचित पार्ने र तथ्यमा आधारित जानकारी प्रदान गर्ने कार्य गर्दै आएको छ । विज्ञान र प्रविधि क्षेत्र अन्तरसम्बन्धित विषयवस्तु भएकाले एकल संस्थाभन्दा संस्थाहरूबीच सहकार्य र समन्वयबाट उद्देश्य प्राप्तिमा प्रभावकारी हुन सक्दछ । नास्टको चार दशकको इतिहासमा पछिल्लो समय विभिन्न कार्यक्रममा जोड दिएको छ ।

    समाजका लागि विज्ञान

    नास्टले आफ्ना गतिविधिहरू समाज केन्द्रित गरेर अगाडि बढिरहेको छ । जनताको आवश्यकता र समाज परिवर्तनका लागि वैज्ञानिक अध्ययन र क्रियाकलापहरू सञ्चालनमा विशेष जोड दिइएको छ । च्याऊसम्बन्धी अध्ययन अनुसन्धान होस् या सुन्तला खेतीमा लाग्ने रोग पत्ता लगाउने अनुसन्धान होस् समाजका समस्याको समाधानमा केन्द्रित गर्दै अध्ययन अनुसन्धान भइरहेको छ । विश्लेषणात्मक सेवा केन्द्रमार्फत जीवनका हरेक आवश्यक विश्लेषणात्मक कार्यमा जनतालाई सेवा पुर्‍याउने कार्यमा विज्ञानमा आधारित भई आफ्नो सङ्काय र केन्द्रहरू स्थापना गरिएका छन् । 

    संघीयता कार्यान्वयन

    मुलुकले संघीय संरचना धारण गरेपछि आफ्नो क्रियाकलाप केन्द्रमा मात्र सिमित नराखी नास्टले पनि आफ्नो गतिविधि सञ्चालन गरेको छ । हाम्रोजस्तो विकाशोन्मुख मुलुकमा विज्ञान र प्रविधिको विकास अपरिहार्य भएकाले सातवटै प्रदेशमा विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरी विज्ञानलाई गाउँस्तरसम्म पुर्‍याउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएको छ । प्रदेश नं.१ मा खाद्य र कृषि, मधेस प्रदेशमा चुरे संरक्षण र विकास, बाग्मती प्रदेशमा शहरी संरक्षण र वातावरण, गण्डकी प्रदेशमा पर्वतीय हरित अर्थतन्त्र, लुम्बिनी प्रदेशमा परम्परागत प्रविधि, कर्णाली प्रदेशमा सूचना र सञ्चार, सुदूरपश्चिम प्रदेशमा जडीबुटीसम्बन्धी अध्ययन अनुसन्धान कार्य गर्ने गरी विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्न नियमावलीको साथ कार्य अगाडि बढाएको छ । शहरहरूको दिगो विकासलाई ध्यान राख्दै हरियाली र खाद्य आत्मनिर्भरतर्फ उन्मुख शहर विकास गर्ने खाद्य हरियाली सहर कार्यक्रम र गाउँ/पालिकाहरूलाई वैज्ञानिक चेतनासहित सामाजिक आर्थिक रूपान्तरणमा सहयोग पुग्ने ढङ्गको वैज्ञानिक गाउँ कार्यक्रमहरू सञ्चालन भइरहेको छ । नास्टले संघ, प्रदेश र पालिका तहसम्म आफ्ना गतिविधिलाई योजनाबद्ध ढङ्गबाट सञ्चालनमा ल्याएको छ ।

    सिर्जनशीलता

    नास्टले आफ्ना गतिविधि सञ्चालन गर्दा सिर्जनशीलतामा जोड दिएको छ । नास्ट अवस्थित सातदोबाटोदेखि गोदावरीसम्ममा करिब ११ किमी सडकका वरिपरि रहेका वैज्ञानिक संघसंस्थासँग सहकार्य गरी विज्ञान सहरको अवधारणा विकास गरेको छ । यसबाट विज्ञान र प्रविधिप्रति रूचि सर्वसाधारण र विद्यार्थीमा बढाउन एवम् विज्ञान प्रविधिसम्बन्धी जानकारीमूलक भ्रमण गर्ने अवसर प्राप्त हुन्छ । नास्टले आफ्नो हाताभित्र विज्ञान र प्रविधि र नवप्रवर्तन पार्क छोटकरीमा विज्ञान पार्कको अवधारणा विकास गरी कार्य अगाडि बढाएको छ ।

    यस्तै आफूले दिइरहेको सेवालाई एकीकृत गरी सहज र प्रभावकारी ढङ्गबाट सर्वसाधारण, संघसंस्थालाई विश्लेषणात्मक सेवा एकै ठाउँबाट दिन विश्लेषणात्मक सेवा केन्द्रको थालनी नास्टले गरेको छ । यस्तै कला र विज्ञानलाई जोडी अझ जनस्तरमा बुझाई वृद्धि गर्न, सचेतना जागरण गर्ने खालको कार्यक्रम सञ्चालनमा ल्याएको छ । समाजमा भएका घटना र समस्याको वैज्ञानिक सामाधानका लागि छिटोछरितो अध्ययन गरी जनताका समस्यालाई सामाधान प्रदान गर्न सहयोग पुग्ने गरी ‘द्रूत अवलोकन अध्ययन टोली’ निर्माण गरी यस्ता कार्यलाई बढवा दिने सिर्जनशील संयन्त्रहरूको विकास गरेको छ । समाजको समस्यालाई परिणाममुखी अनुसन्धानमार्फत समाधान दिनेतर्फ सिर्जनशील भई अध्ययन अनुसन्धानमा लाग्न वैज्ञानिक जनशक्तिलाई विशेष जोड दिइएको छ ।

    सहकार्य र समन्वय

    विज्ञान प्रविधि क्षेत्रको कार्य अन्तरसम्बन्धित भएको हुँदा विभिन्न संघसंस्थाबीच सहकार्य र समन्वयमा मात्र सम्भव छ । एकल संस्थाको प्रयासबाट मात्र सफलता प्राप्त गर्न कठिन हुने हुन्छ । नास्टले यस कुरालाई मनन गरी राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य र समन्वयन गरी आफ्नो गतिविधि सञ्चालित गरिरहेको छ । पछिल्लो चार वर्षमा करिब चार दर्जन सरकारी, गैरसरकारी, विभिन्न स्थानीय तह, मन्त्रालय, अन्तर्राष्ट्रिय संघसंस्थासँग समझदारीपत्र र सम्झौतापत्रमा हस्ताक्षर गरी सहकार्य र समन्वयमा वैज्ञानिक गतिविधिहरू अगाडि बढाएको छ ।

    सिमारहित विज्ञान/विज्ञान कुटनीति

    विज्ञान र प्रविधिको कुनै सीमा हुँदैन । एक ठाउँको अनुसन्धान र आविस्कार अर्को ठाउँमा सजिलै उपलब्ध र उपयोगी हुने हुँदा विकासको गति विश्वमा अद्भूत रूपमा भैरहेको छ । नास्टले पनि विज्ञान कुटनीतिमा विश्वास राखी विज्ञान कुटनीतिलाई प्रयोग गरी नास्टको समुन्नति र विज्ञान प्रविधि क्षेत्रका विकासमा अग्रसर हुने खालको गतिविधिलाई बढवा दिंदैछ । कोरिया सरकारको एनआइए संस्थाको सहयोगमा नास्टस्थित इन्फरमेशन एक्सेस सेन्टर स्थापना गरी सूचना र सञ्चारसम्बन्धी ज्ञान विद्यार्थी र इच्छुकहरूलाई दिदै आइरहेको छ । नाम एस एण्ड टि सेन्टरको सहयोगमा वैज्ञानिक क्षमता अभिवृद्धि गर्ने कार्यक्रम अगाडि बढिरहेको छ । चीनको कृषि तथा वन विश्वविद्यालय फूजियानसँग समझदारीपत्रको माध्यमबाट नेपालमा उपयोगी हुने जुन्काऊ प्रविधि हस्तान्तरण गर्ने कार्य अगाडि बढाइएको छ ।

    वैज्ञानिक समावेशीता

    नास्टले आफ्नो गतिविधि सञ्चालन गर्दा समावेशीतालाई विशेष ध्यान दिएको छ । युवा वैज्ञानिक फोरम र महिला वैज्ञानिक फोरम स्थापना गरी युवा र महिला वैज्ञानिकको क्षमता अभिवृद्धि गर्ने र युवा एवम् महिला वैज्ञानिक र प्राविधिकलाई सहयोग र प्रोत्साहन गर्ने खालका गतिविधिहरू सञ्चालनमा नास्टले सहयोग पुर्‍याउँदै आएको छ । विज्ञान विषयका विद्यार्थीदेखि शिक्षकसम्म युवा नवप्रर्वतनदेखि विश्वविद्यालयका अनुसन्धान कर्तासम्मलाई विभिन्न ढङ्गबाट सहयोग पुर्‍याउँदै आएको छ । विभिन्न संस्थागत प्रतिनिधित्व हुने गरी १६ वटा उपसमितिहरूमार्फत नास्टका गतिविधिमा सहभागी हुने अवसर पनि प्रदान गरिएको छ ।

    संस्थागत समुन्नति

    नास्टले आफ्नो समुन्नतिमा पनि ध्यान दिँदै विज्ञान प्रविधि क्षेत्रको विकासमा जोड दिँदैछ । अनुसन्धान कार्यलाई बढवा दिन एनिमल हाउस एवम् बायोमेडिकल रिसर्च सेन्टरको भवन निर्माण कार्य सातदोबाटोस्थित केन्द्रीय कार्यालयको हाताभित्र सुरूआत गरिएको छ । रेडियसनसम्बन्धी अध्ययनलाई सहयोग पुर्‍याउन बन्करसहित अनुसन्धान भवन निर्माण गर्ने कार्यक्रम पनि रहेको छ । यस्तै पछिल्लो समयमा अत्याधुनिक उपकरणहरूसहित नास्टस्थित प्रयोगशालालाई अत्याधुनिक एवम् समुन्नत बनाइएको छ । केन्द्रीय कार्यालयको हातामा ‘साइन्स पार्क’ निर्माण गर्ने मात्र होइन, प्रत्येक प्रदेशमा एक/एक वटा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना कार्य समेतलाई अगाडि बढाइएको छ । राष्ट्रिय परम्परागत सीप एवम् प्रविधि प्रशिक्षण केन्द्र राष्ट्रिय प्रविधि परिक्षण एवम् प्रमाणीकरण केन्द्र स्थापनाको लागि अध्ययन गर्ने कार्यक्रमसहित अगाडि बढेको छ ।

    संरचनाको परिमार्जन

    नास्टको स्थापना भएको चार दशक भइसकेको छ । विज्ञान र प्रविधिको विकास गर्न नास्टले आफ्नो भूमिका अब फरक ढङ्गबाट निभाउन जरूरत भइसकेको देखिन्छ । तसर्थः आफ्नो चार दशक अगाडि बनाइएको संरचनामा परिमार्जित गर्नु आवश्यक भएको महसुस नास्टले गरेको छ । यसैलाई मनन गरी नास्टको संरचना परिमार्जन गर्दै यसका गतिविधिलाई अझ सशक्त ढङ्गबाट अगाडि बढाउन यसका उद्देश्य र संरचना पुनःपरिभाषित र परिमार्जन गर्न मन्त्रालयको प्रतिनिधिसहित विभिन्न प्राज्ञिक संस्थाका प्रतिनिधिहरू सम्मिलित भएको संरचना परिमार्जित उच्चस्तरीय समितिमार्फत कार्य अगाडि बढाइ रहेको छ ।

    अनुसन्धानकर्तालाई सहयोगः नास्टले वैज्ञानिक संघ/संस्थालगायत वैज्ञानिक र प्राविधिकहरूलाई वैज्ञानिक क्रियाकलापमा सहयोग गर्न कार्यविधि निर्णय गरी क्रमश सहयोगमा वृद्धि गर्दै लगेको छ । पिएचडी र स्नातकोत्तरका विद्यार्थीलाई शोधपत्र तयार पार्न आर्थिक सहयोग गर्नुका साथै अनुसन्धानकर्तालाई अनुसन्धान वृत्ति प्रदान गर्ने गरेको छ । यस्तै विद्यार्थीहरूलाई अनुसन्धान गर्न विज्ञान र प्रविधि सङ्कायमार्फत सञ्चालित प्रयोगशाला उपलब्ध एवम् सुपरीवेक्षण गर्ने व्यवस्था मिलाइएको छ । रिसर्च असिस्ट्यान्ट, रिसर्च फलो, एशोसियट रिसर्च फेलोजस्ता अनुसन्धान वृत्ति कार्यक्रम सञ्चालन गरी अनुसन्धानकर्मीलाई अवसर सिर्जना गरी दिएको छ । विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा फर्किएपछि करिब एक वर्ष स्वदेशको वातावरणमा घुलमिल गर्न र अवसरको खोजी गर्नुको साथै आफ्नो अनुसन्धानलाई निरन्तरता दिनु र ज्ञान बाढ्ने अवसर प्रदान गर्ने उद्देश्यका साथ ब्रेन पुलिङ्ग कार्यक्रम सञ्चालन भइरहेको छ । चालिस वर्षभन्दा कम उमेरले एशोसियट नास्ट फेलो, विशिष्ट अनुसन्धानकर्मी र विज्ञलाई एमिनेन्ट नास्ट फेलो दिने व्यवस्थाले विज्ञहरूलाई अनुसन्धान र ज्ञान अभिवृद्धि गर्ने अवसर पनि नास्टले प्रदान गर्दै आइरहेको छ ।

    विज्ञान र प्रविधि क्षेत्रका व्यवसायिक संघसंस्थालाई वैज्ञानिक सहकार्यअन्तरगत आर्थिक सहयोग पुर्‍याउनेदेखि भर्खर विश्वविद्यालयबाट दीक्षित भएका विद्यार्थीहरूलाई अनुसन्धान कार्यको अनुभव दिलाउने उद्देश्यअनुसार इन्टर्न गर्ने व्यवस्था पनि नास्टमा उपलब्ध छ । सातै प्रदेशका प्रतिनिधित्वमूलक स्थानीय तहमा विज्ञान प्रविधि क्षेत्रमा कार्य गर्न इच्छुक युवालाई स्थानीय तहकै सिफारिसमा नागरिकसँग नास्ट भन्ने कार्यक्रममा सहभागी हुने अवसर समेत नास्टले उपलब्ध गराएको छ । पछिल्लो समय नास्टले वैज्ञानिक र प्राविधिकहरूको आत्मसम्मान वृद्धि गर्न र प्रोत्साहित गर्न सहयोग पुर्‍याउने उद्देश्यले पुरस्कारको क्याटेगोरी थप गरी सम्मानित गर्दै आएको छ । यस वर्षदेखि विज्ञान र प्रविधि क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने गैरआवासीय नेपालीलाई समेत पुरस्कृत गर्ने गरी थप पुरस्कारको व्यवस्था भएको छ । 

    चुनौती

    विज्ञान तथा प्रविधि प्राथमिकतामा परेको भएपनि लगानीमार्फत सुनिश्चित गर्न सकेका छैनौँ । पर्याप्त बजेट नहुँदा नयाँ अनुसन्धान गर्न सकिएको छैन भने गरिएका अनुसन्धानका आधारमा प्रविधिको विकास हुन सकेको छैन । अर्को मुख्य चुनौतीका रूपमा जनशक्तिको पलायन मुख्य बनेको छ । हामीसँग विज्ञान प्रविधिका क्षेत्रमा गहिरो ज्ञान र अनुभव भएका पर्याप्त जनशक्ति भए पनि उनीहरूलाई परिचालन गर्न आर्थिक, प्राविधिक र संस्थागत संरचनाको अभावले सकेका छैनौँ ।

    त्यस्तै विज्ञान कूटनीतिलाई पनि प्रभावकारीरूपमा अगाडि बढाउन सकिएको छैन । विभिन्न देशमा राजदूतका रूपमा जानुभएका व्यक्तित्वले पनि आर्थिक विषयमा मात्र ध्यान दिने गरेको तर विज्ञान प्रविधिमा ती मुलुकहरूले हासिल गरेका ज्ञान हस्तान्तरण गर्नेतर्फ ध्यान दिएको पाइँदैन ।

    विज्ञान विनाविकास सम्भव छैन । हाम्रोजस्तो विकासोन्मुख देशमा विकासका लागि विज्ञान हुनु आवश्यक छ । देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरूपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गर्नुपर्ने हुन्छ । त्यसैले नास्टले स्थापनाकालदेखि नै प्रविधिलाई सरल तथा सहजरूपमा नेपाली समाजमा स्थापित गर्दै आएको छ ।

    लेखक नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति हुन् । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology