वेबटिभी खबर
गोरखा । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले मतदान गरेका छन् । पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण मावि निर्वाचन केन्द्रबाट आइतबार डा.भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा मतदान गरेका हुन् ।
नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्षसमेत रहेका डा.भट्टराईले मतदानपछि संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै गणतन्त्रमाथि कुनै छेडछाड नहाेस् र भष्मासुर प्रवृत्तिको उदय नहोस् भने ।
उनले भने,‘आफ्नो मताधिकार प्रयोग गरियो । राम्रा उम्मेदवारहरूले जितून् ! संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै छेडछाड नहोस् ! भष्मासुर प्रवृत्तिको उदय नहोस् !’
अध्यक्ष डा.भट्टराईले सुशासन र समतामूलक समृद्धिको नयाँ युग सुरु होस् पनि भनेका छन् ।
गोरखा–२ बाट लगातार तीन पटकसम्म संघीय चुनाव जित्दै आएका भट्टराई यसपटक भने उम्मेदवार बनेका छैनन् ।
उक्त क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij