Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

देशभरका नेवार समुदाय योःमरी पुन्हि मनाउँदै

देशभरका नेवार समुदाय योःमरी पुन्हि मनाउँदै

  • 321
    SHARES
  • देशभरका नेवार समुदाय योःमरी पुन्हि मनाउँदै

    भक्तपुर । नेवार समुदायका घरघरमा बिहीबार योःमरी पकाएर देशभरका योःमरी पुन्हि (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा योको अर्थ मनपर्ने र मरीको अर्थ रोटी हो । यस अर्थमा याेःमरीको अर्थ मनपर्ने रोटी हो ।

    प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी याेःमरी खाएर देशभरका नेवार समुदायले याेःमरी पुन्हि मनाउँछन् । चामलको पिठोबाट बनेको एक प्रकारको रोटीभित्र चाकुको झोल राखी याेःमरी बनाइन्छ ।

    हिजोआज चाकुका सटा खुवालगायतका अरु खाद्य पदार्थ राखेर पनि याेःमरी पकाउने चलन बढेको छ । याेःमरी खाने दिन भएकाले यो पर्वका दिन नेवार समुदायका महिला आ–आफ्नो घरमा सबेरै उठेर याेःमरी पकाउँछन् ।

    याेःमरीका साथ भोज खाँदा नियमित जस्तो खाना खाने चलन छैन । यो दिन नियमितजस्तो खाना खान नहुने विश्वास छ । त्यहीअनुसार यस दिन उनीहरू याेःमरीका साथ चिउरा, तरकारी, मासुलगायतका परिकारको भोज खान्छन् ।

    देशभरका नेवारहरु यो पर्वका दिन याेःमरी पकाएर खान्छन् । याेःमरी सबै नेवारहरूको मौलिक सांस्कृतिक पहिचान हो । काठमाडौं उपत्यकामा बाहुल्य रहेको नेवार समुदाय देशका ठाउँठाउँमा फैलिएका छन् ।

    पर्वका दिन नेवार समुदायको परिवारमा विशेष उल्लास हुन्छ । यस क्रममा घरका महिलाहरू सबेरै उठेर नुहाइधुवाई गरी चोखो हुन्छन् ।

    साथै बालबालिकाहरू यो दिन मिठोमसिनो खाई रमाउँछन् । एकदिनमै यो पर्व सकिँदैन । पर्वको चार दिनपछि विवाहिता छोरीहरू बोलाई सबैलाई लक्ष्मीको प्रसादको रूपमा याेःमरी बाँडिन्छ ।

    पर्वको चार दिनपछि छोरीचेलीलाई बोलाएर याेःमरीका साथ भोज खुवाउने चलन अहिले पनि नेवार समुदायमा जस्ताको त्यस्तै छ । पर्वका दिन उनीहरू याेःमरी खाने, बाँड्ने र पूजा गर्ने चलन छ ।

    संस्कृतिविद् ओम धौभडेलका अनुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ । याेःमरी बनाउँदा याेःमरीको चुच्चो जति लामो हुन्छ, त्यो रातको समय त्यत्तिकै लामो हुने भनाइ धौभडेलको भनाइ छ ।

    त्यस्तै याेःमरीको सम्बन्ध मौसमसँग पनि जोडिएको उनी सुनाउँछन् । नेवार संस्कृतिमा नयाँ घर बनाइसकेपछि छानाबाट याेःमरी गुडाउने चलन पनि छ ।

    साथै यहाँका धरोहरको रूपमा चिनिने मठमन्दिर, देवालय, शिवालय बहाबहीको वर्षबन्धनको दिन छानाबाट याेःमरी गुडाउने गरिन्छ ।

    कसरी बन्छ याेःमरी ?

    याेःमरी चामलको पीठोबाट बनाइने विशेष प्रकारको रोटी हो । चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा याेःमरी तयार गरिन्छ ।

    पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । याेःमरीभित्र चाकु राखिएको हुन्छ । कसैले यसमा चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो आदिले त्रिकोण आकारमा बनाइन्छ ।

    वर्षको पहिलो धानबाट चामलको पिठो तयार गरी याेःमरी बनाइन्छ । मंसिरमा काटेर भित्र्याइएको धानको चामललाई पिठो बनाएर याेःमरी बनाउने चलन छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij