Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नगरप्रमुख माछा व्यवसायमा रमाउँदै

नगरप्रमुख माछा व्यवसायमा रमाउँदै

  • 460
    SHARES
  • नगरप्रमुख माछा व्यवसायमा रमाउँदै

    कैलाली । कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले माछा व्यवसाय गरेका छन् । नगरलाई समृद्ध बनाउने सपना साकार पार्न उनले उक्त व्यवसाय गरिरहेका हुन् ।

    जनप्रतिनिधि सबैले आ-आफ्नो व्यवसाय गर्न जरूरी रहेको उनको बुझाइ छ । उनले नगरपालिकाकै वडा नं-९ सेहरीमा ९ बिघा जमिन भाँडामा लिएर माछा व्यवसाय सञ्चालन गरेका छन् ।

    ‘डोटीस्थित निरौली विद्यालयको जग्गा हो । विसं २०७८ मा जग्गाको सम्झौता गरेर काम सुरु गरेका थियौँ’, उनले भने, ‘हामी दाजुभाइ मिलेर यो काम गरिरहेका छौँ । निर्वाचनका कारण केही ढिलाइ हुँदा माछा हाल्न ढिला भयो, अहिले आधा माछा निकालिसकेका छौँ, केही अझै निकाल्न बाँकी छ ।’

    उनले आफूले माछापोखरी पनि फरक तरिकाले निर्माण गरेको बताए । ‘यसमा जेसिवी प्रयोग गरेको भए आठदेखि १० लाख कम खर्चमा पोखरी निर्माण गर्न सकिन्थ्यो’, उनले भने, ‘हामीले ट्रयाक्टर प्रयोग गरेर नयाँ प्रविधिबाट निर्माण गरेका छौँ । यसले पोखरी दिगो बन्न मदत गर्छ ।’

    राजनीतिलाई सेवाका रूपमा बुझी स्वयम् आत्मनिर्भर बन्ने लक्ष्यका साथ माछा व्यवसाय सुरु गरेको उनको भनाइ छ । २०७८ सालमै सञ्चालनमा ल्याइएको बिपी एग्रिगेट एग्रो फर्ममार्फत उनले माछा व्यवसाय सुरु गरेका हुन् ।

    नगरप्रमुख हुनु अगावैदेखि सञ्चालनमा ल्याइएको उक्त फर्ममा उनले विभिन्न जातका माछा उत्पादन गरी बिक्रिवितरण गर्ने योजना बनाएका छन् ।

    ‘यो सबै जमिनमा माछा पोखरी बनेका छन्, यहाँ प्रायःजसो सबै प्रकारका माछा उत्पादन हुनेछन्’, उनले भने, ‘सानो पोखरीमा हामीले पङगास जातको माछा राखेका छौँ, यो माछा चारो मात्रै खाएर हुर्किने गर्छ, यसलाई वर्षको दुई पटकसम्म उत्पादन गर्न सकिन्छ ।’

    फागुनदेखि नौ बिघामा निर्माण गरिएका सबै पोखरीमा पूरै क्षमतामा माछाका भुरा राख्ने उनको योजना छ । उनले माछाका भुरा पनि आफ्नै ‘स्टक’ राख्ने र आवश्यकपरे बेचबिखन गर्नेसमेत योजना रहेको जानकारी दिए ।

    सामाजिक क्षेत्रमा लागेपनि रोजगारी आवश्यक भएकाले कृषि पेसा अगालेको उनी बताउँछन् । ‘यो व्यवसाय पनि हो । सामाजिक क्षेत्रमा लागे पनि मान्छेलाई काम त चाहिन्छ । रोजगारको बाटो चाहिन्छ नै । तसर्थ कृषि पेसामा आवद्ध भएको हुँ’, उनले भने ।

    उनको फर्मबाट स्थानीय १० जनाले रोजगार पाएका छन् । उक्त फर्ममा करिब पौने तीन करोड लगानी लागिसकेको उनको भनाइ छ ।

    ‘करिब पौने तीन करोड लगानी लागिसकेको छ, सबै बैंकबाट नै ऋण लिएर हो’, उनले भने, ‘अझै यसमा लगानी लाग्नेछ । बस्ने र स्टक घर बन्न बाँकी छ । बत्ती, सिसिटिभी क्यामेरा जडान गर्नुका साथै तारबार पनि गर्न बाँकी छ ।’

    उक्त माछा पोखरीलाई भविष्यमा पर्यटकीयस्वरुप दिने किसिमको योजना उनको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij