वेबटिभी खबर
काठमाडौं । नविनयुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पद बहाली गरेकी छिन् । आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएलगत्तै सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।
पदभार ग्रहण गर्दै मन्त्री शर्माले ‘सञ्चारको पहुँच सुनिश्चित गराउने’सम्बन्धी कार्यक्रमको विद्युतीय माध्यमबाट सुरुआत गरिन् । उनले सञ्चार तथा प्रविधिको सेवालाई देशव्यापी बनाउनेतर्फ आफ्नो विशेष सक्रियता हुने बताइन् ।
देशभर सञ्चार सेवालाई सर्वसुलभ, पहुँचयोग्य बनाउने र त्यसका लागि सबैसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । आफू नयाँ क्षेत्रमा आएको भन्दै मन्त्रालय र मातहतका सबै निकायको यथेष्ट जानकारी लिएर यसभित्र रहेका समस्या समाधान गर्ने उनको भनाइ छ ।
पदभारपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीले दिएको जिम्मेवारीलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र त्यसमा सबैको साथ तथा सहयोग जरूरी रहेको बताइन् ।
नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य शर्माले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का महासचिव शंकर पोख्रेललाई पराजित गर्दै विजयी भएकी थिइन् ।
२०७०/२०७४ मा प्रतिनिधिसभामा समानुपातिक सदस्यका रूपमा निर्वाचित भएकी उनी २०७२ साल कात्तिकदेखि २०७३ कात्तिकसम्म सामान्य प्रशासनमन्त्रीको जिम्मेवारीमा रहेकी थिइन् । उनले २०४२ सालदेखि राजनीतिक यात्रा सुरु गरेकी थिइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij