वेबटिभी खबर
काठमाडौं । उपप्रधान एवम् ऊर्जा जलश्रोत तथा सिँचाईमन्त्री राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणपछि पशुपतिनाथ मन्दिरमा दर्शन गरी मन्त्री लिङदेनले पदबहाली गरेका हुन् ।
उपप्रधानमन्त्री लिङदेनले पदभार ग्रहणलगत्तै नेपालको ऊर्जा जलस्रोत तथा सिँचाई क्षेत्रको विकासका लागि पाँच वर्षे रणनीति तयार पार्न तीन सदस्यीय कार्यदल बनाउने निर्णय गरेका छन् ।
आगामी पाँच वर्षका लागि ऊर्जा जलस्रोत र सिँचाईका क्षेत्रमा हामीले प्राथमिकतामा राखेर गर्नुपर्ने कामहरू के-के लागि तय गर्ने र हाम्रो आवश्यकता तथा प्राथमिकता निर्धारण गरी रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ’, उनले भने, ‘योजनावद्ध ढंगले काम गर्न सकियो भने ठोस नतिजा निकाल्न सकिन्छ ।’
ऊर्जा जलस्रोत तथा सिँचाई जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्दा चुनौतीपूर्ण हुने भएपनि आफूले त्यसलाई अवसरमा बदल्ने उनको भनाइ छ ।
‘मन्त्रालय कुनै पनि राम्रो/नराम्रो वा सानो/ठूलो भन्ने त हुँदैनन्, सबै मन्त्रालय बराबर छन्’, उनले भने, ‘नेपालको हकमा ऊर्जा जलस्रोत र सिँचाई मन्त्रालय महत्वपूर्ण मन्त्रालय हो । मन्त्रालय सम्हाल्नु चुनौतीपूर्ण भए पनि म यसलाई अवसरमा परिणत गर्छु ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij