वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य गोकर्ण विष्टले पार्टी एकताका लागि आफूहरुको पक्षबाट सक्दो सहयोग रहने बताएका छन् । एमालेबाट निष्काशित विरिष्ठ नेता माधव नेपालको पक्षमा रहँदै आएका पूर्वमन्त्रीसमेत रहेका नेता विष्टले एमालेलाई माओवादीसँग एकीकरण हुनु अगाडिको अवस्थामा पुर्याउनु पर्ने पनि बताएका छन् ।
‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई ०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ,’ नेता विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवम् एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’
नेपाल पक्षमै रहे पनि वैकल्पिक सरकार गठन गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको दाबी गरेको विपक्षी गठबन्धजनमा सहभागिता नजनाएका विष्ट अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नजिक पुगेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका ओलीको गैरलोकतान्त्रिक र स्वेच्छाचारी कदमले पार्टी विभाजनको संघारमा पुगेको र देशमा अस्थिर राजनीति मौलाएको भन्दै नेपाल पक्षले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा पनि विष्टले ऐक्यवद्धता जनाउँदै हस्ताक्षर गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij