Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

तीन महिनाभित्र कोरोना भाइरस उत्पत्तिबारे पत्ता लगाउन बाइडेनको आदेश 

तीन महिनाभित्र कोरोना भाइरस उत्पत्तिबारे पत्ता लगाउन बाइडेनको आदेश 

  • 605
    SHARES
  • तीन महिनाभित्र कोरोना भाइरस उत्पत्तिबारे पत्ता लगाउन बाइडेनको आदेश 

    वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इन्टेलिजेन्स एजेन्सीलाई कोरोना भाइरस उत्पत्तिबारे पत्ता लगाउन ९० दिनको समय दिएका छन् । बुधबार बाइडेनले एक विज्ञप्ति जारी गर्दै भाइरस मानिस, जनावार वा प्रयोगशाला जहाँबाट फैलिएको भए पनि आफूलाई त्यसबारे रिपोर्ट चाहिएको बताएका हुन् । 

    बाइडेनले भनेका छन्, 'अमेरिकाका गुप्तचर निकायहरु दुई सम्भावनाको नजिक भए पनि कुनै ठोस निष्कर्षमा पुगेका छैनन् । दुईमध्ये एउटा जनावारबाट मानिसमा सरेको र अर्को प्रयोगशालाबाट फैलिएको विश्वास गर्छ तर कसैले पनि यसलाई पूर्ण विश्वासका साथ भनिरहेका छैनन् । निष्कर्षमा पुग्न अझै पर्याप्त जानकारी आवश्यक छ ।' 

    सन् २०१९ को डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस चीनको वुहान सहरको एक खाद्य बजारमा देखिएको थियो । त्यसयता विश्वभर १७ करोड मानिस संक्रमित भइसकेका छन् भने ३५ लाख बढीको ज्यान गएको छ ।

    जनवरी १४ देखि फेबु्रअरी १० सम्म विश्व स्वास्थ्य संगठनको एक समूह वुहान पुगेर भाइरसको सुरुवातबारे अध्ययन गरेपछि जनावारबाट मानिसमा प्रसार भएको निष्कर्ष निकालेको थियो तर केही अध्ययनहरुले चीनमा प्रयोगशालाबाट भाइरस चुहावट भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गर्दै आएका छन् । 

    बाइडेनले आदेश दिनुभन्दा अघि मंगलबार अमेरिकी स्वास्थ्य मन्त्री जेभियर बेसेराले विश्व स्वास्थ्य सम्मेलनमा विश्व स्वास्थ्य संगठनलाई कोरोना भाइरस कसरी फैलियो भनेर पारदर्शी हुनुपर्ने बताएका थिए । 

    वाल स्ट्रीट जर्नल अमेरिकी गुप्तचर निकायलाई उद्धृत गर्दै महामारीको सुरुवातमा वुहान प्रयोगशालाका तीन सदस्य कोभिड लक्षण देखिएर अस्पताल पुगेको लेखेपछि चीनले यो रिपोर्ट पूर्ण रुपमा झुट रहेको प्रतिक्रिया दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियानले भाइरस अमेरिकाबाट फैलिएको पनि हुन सक्ने भएकाले यसका लागि अमेरिकाले पनि आफैंले छानबिन गर्नु पर्ने बताएका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij