वेबटिभी खबर
बझाङ । बझाङको दुर्गम साइपाल गाउँपालिकामा हिमपातका कारण खाद्यान्न ढुवानी गर्न समस्या भएको छ ।
बुधबार भएको हिमपातका कारण बाटो अवरूद्ध भएपछि खाद्यान्न ढुवानी गर्न समस्या भएको हो । यातायातका साधन नपुगेको उक्त गाउँपालिकामा भेडा, खच्चरबाट खाद्यान्न आयात गरिएको छ ।
हिमपातका वडा नं-१ देखि ५ सम्म बाटो अवरूद्ध भएको थियो । खाद्यान्न अभाव हुन नदिन काँडा बिक्री केन्द्रले तीन हजार क्विन्टल खाद्यान्न ढुवानीको ठेक्का लिए पनि छ महिनासम्ममा छ सय क्विन्टल मात्रै ढुवानी गरेको गाउँपालिकाले जनाएको छ ।
सम्झौताअनुसार बाँकी दुई हजार चार सय क्विन्टल खाद्यान्न पाँच महिनाभित्र ढुवानी गरिसक्नुपर्नेछ । बिक्री केन्द्रलगायत सम्बन्धित निकायले ध्यान दिन नसके खाद्यान्न अभावले भोकमरी हुनसक्ने स्थानीय बताउँछन् ।
खाद्यान्न ढुवानी नियमित गराउने उद्देश्यले अवरूद्ध बाटो खुलाउने प्रयास भइरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहराले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij