Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

इङ्वाखोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न

इङ्वाखोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न

  • 345
    SHARES
  • इङ्वाखोला जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न

    पाँचथर । आगामी २०८० जेठ १ गतेदेखि व्यावसायिक उत्पादन थाल्ने योजनासहित इङ्वाखोला जलविद्युत् आयोजना निर्माण कार्य भईरहेको छ ।

    पाँचथरको याङवरक गाउँपालिकामा निर्माणाधीन यो आयोजनाबाट आगामी वैशाख १५ गतेभित्र परीक्षण उत्पादन थाल्ने तयारी गरेको हो ।

    नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद सम्झौता (पीपीए) बमोजिम जेठ १ गतेभित्र उत्पादन थाल्न आयोजनाको निर्माण कार्यलाई द्रूत बनाइएको छ । हालसम्म आयोजनाको निर्माण कार्य करिब ७५ प्रतिशत सम्पन्न भएको आयोजना प्रबन्धक उमेश नेपालले जानकारी दिए ।

    ९.७ मेगावाट क्षमताको यस आयोजनाले हिँउदको समयमा भने कूल क्षमताको करिब ३० प्रतिशत मात्रै विद्युत् उत्पादन गर्नेछ । पाँचथर र ताप्लेजुङको सीमा भई बग्ने इङ्वाखोला (इन्द्रावती)मा आयोजना निर्माणाधीन छ ।

    इङ्वाखोला हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले २०६३ मा अनुमति दिएको थियो । २०७८ भदौ २३ गतेदेखि निर्माण थालिएको आयोजना २० महिनामा निर्माण सम्पन्न हुन लागेको हो ।

    यहाँ उत्पादित विद्युत् काबेली कोरिडोर विद्युत् प्रसारण लाइनको पाँचथरको हिलिहाङ गाउँपालिका-२ अमरपुरस्थित सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । ‘पाइप लाइन र केही प्राविधिक काम बाँकी छन्’, आयोजना प्रबन्धक नेपालले भने, ‘निर्धारित अवधिमा निर्माण कार्य सक्नेछौ ।’

    आयोजनाको बाँध (हेडबक्स) पाँचथरको याङवरक गाउँपालिका-२ सेरेजामा छ । आयोजनामा सुरुङमार्ग छैन् । ४.४० किलोमिटर फलामे ‘हेडरेस’ पाइप लाइन र दुई सय ७८ मिटर ‘सर्ज’ पाइपमार्फत खोलाको पानी याङवरक-३ ओयामको आँपडाँडामा रहेको पावरहाउससम्म ल्याउन लागिएको हो ।

    बाँध र पावरहाउसबीचको उचाइ १८१.२५ मिटर रहेको आयोजनाका प्रमुख इन्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । फलामको मूल्य बढेका कारण आयोजनाको लागत सुरुङमार्गको जस्तै बनेको प्रवर्द्धकको भनाइ छ ।

    एक अर्ब ९५ करोडको लागतमा निर्माण हुन लागेको आयोजनामा प्रवर्द्धकको ३० प्रतिशत लगानी छ । बाँकी ७० प्रतिशत लगानी बैंक अफ काठमाण्डू मर्जरपछि हाल ग्लोबल आइएमई बैंकको छ ।

    याङवरक गाउँपालिकामै काबेली बी-१ आयोजना निर्माण सम्पन्न भइसकेको छ भने काबेली बी-१ क्यासकेट आयोजना निर्माणाधीन अवस्थामा छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij