Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

बाँसबाट बनाएको सामग्रीले मूल्य पाएनन्

बाँसबाट बनाएको सामग्रीले मूल्य पाएनन्

  • 374
    SHARES
  • बाँसबाट बनाएको सामग्रीले मूल्य पाएनन्

    नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका-३ भुजेल गाउँका जगबहादुर भुजेलले १६ वर्षको उमेरदेखि डोको, डालो, नाङ्लो र मान्द्रो बुन्न सुरु गरे ।

    पुर्खैली पेसा पछ्याउँदै आएका भुजेलले ७० वर्षको उमेरसम्म पनि आफ्नो पेसालाई निरन्तरता दिइरहेका छन् । सबै सामानको मूल्य बढ्दा आफूहरूले बनाएको सामानको मूल्य नबढेको उनको गुनासो छ ।

    ‘सानो डोकोलाई दुई सय र ठूलो डोकोलाई पाँच सयमा बेच्न थालेको पाँच वर्ष भयो, मूल्य बढ्नु त कता/कता पहिलेकै मूल्यमा पनि बेच्न गाह्रो छ’, भुजेलले भने ।

    गैँडाकोट नगरपालिका-३ भुजेल गाउँमा ३५ घरधुरी छन् । यहाँका प्रत्येक घरका सदस्य दिनभरि डोको, डालो, नाङ्लोलगायतका सामग्री बनाउन व्यस्त हुन्छन् । उनीहरूको आम्दानीको स्रोत नै यही पेसा हो ।

    पहाडी क्षेत्रमा बाँसको उत्पादन राम्रो हुने भएकाले जीविकोपार्जनका लागि महिलाहरूसमेत यसतर्फ आकर्षित छन् । दुःख गरेर बनाएको डोको-डालोले परिश्रम अनुसारको उचित बजार मूल्य नपाएको ३० वर्षीया मंगली भुजेलले बताइन् ।

    ‘चोया पनि किन्नुपर्छ, एउटा डालो बनाउन एकदिन पूरै लाग्छ, गाउँमा बिक्री हुँदैन, उचित मूल्य नहुँदा लगानीसमेत उठाउन गाह्रो भएको छ’,  मंगलीले भनिन् ।

    स्थानीय संसरी भुजेलको दैनिकी पनि डोको-डालो बुनेर नै बित्ने गर्छ । बालबच्चा पढाउने र घरखर्च चलाउने माध्यम यही हो । ‘चामल, नुन, तेल, मसला हरेक सामानको भाउ बढेको छ तर हामीले बनाएको सामग्रीको न मूल्य बढ्छ न त उचित बजार नै पाइन्छ’, संसरीले भनिन् ।

    स्थानीयले उत्पादन गरेको सामग्रीको बजारीकरणको व्यवस्था सरकारले गर्नुपर्ने स्थानीयको माग छ । स्थानीय रमेश भुजेलले बाँसको चोयाबाट उत्पादित सामानको उचित मूल्य दिने जिम्मा स्थानीय सरकारले लिनुपर्ने बताए ।

    चार वर्षअगाडिसम्म उत्पादित सामानको बजारीकरण गरिदिने आश्वासन दिएको गैँडाकोट नगरपालिकाले यसपटक भने यसको विकल्प खोज्नुपर्ने बताएको छ ।

    गैँडाकोट नगरपालिकाका प्रवक्ता तथा गैँडाकोट-३ का वडाध्यक्ष शिवकान्त तिवारीले बजारमा आएका प्लास्टिकका सामानले चोयाबाट बनेका सामानलाई विस्थापित गर्दै लगेको बताउँदै स्थानीयलाई अन्य क्षेत्रको विकल्प दिने जानकारी दिए ।

    प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले ग्रामीण भेगहरूबाट परम्परागतरूपमा प्रयोग गरिँदै आएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदै गएका छन् । कतिपय ठाउँमा यस्ता सामग्री बने पनि बिक्री हुने र लागत अनुसारको मूल्य नपाउने समस्या छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij