Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

  • 276
    SHARES
  • तरकारी ढुवानी गर्न कृषि एम्बुलेन्स

    चितवन । कृषि क्षेत्रको समस्या समाधान गर्न चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

    यसका लागि संघीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसान लक्षित कृषि एम्बुलेन्स खरिद गर्न लागेको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

    घुम्ती सेवामार्फत कृषि उत्पादन किसानका घर-घरबाट बजारसम्म ल्याइने उनले जानकारी दिए । उनका अनुसार वडा नं १, २ र ७ का किसानले उत्पादन गरेका कृषिजन्य उत्पादनको सहज ढुवानीका लागि तीनवटा कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिएको हो ।

    उनले भने, ‘ किसानले उत्पादन गरेका कृषि उपजलाई बजारसम्म लैजान सहज होस् भन्ने उद्देश्यले कृषि एम्बुलेन्स खरिद गर्न खोजेका हौँ ।’ अहिले पनि इच्छाकामनाको पहाडी क्षेत्रका बासिन्दाले निकै कष्टका साथ कृषिजन्य उत्पादन बजार पुर्याउनुपर्ने बाध्यता छ ।

    तत्कालका लागि तीनवटा एम्बुलेन्स खरिद गर्ने तयारीमा रहेको अध्यक्ष गुरुङले बताए । उनका अनुसार संघीय सरकारले ४० लाख बजेट व्यवस्थापन गरिदिएको छ भने त्यसमा पालिका र कृषि समूह तथा सहकारीको सहकार्यमा आधा-आधा रकमको व्यवस्थापन हुनेछ ।

    उनले भने, ‘संघीय सरकारसँगै पालिकाले २५ प्रतिशत र कृषि समूह तथा सहकारीको २५ प्रतिशत रकम व्यवस्थापन गरेर कृषि एम्बुलेन्स खरिद गर्ने योजना हो ।’

    गाउँपालिकाले तीनवटा एम्बुलेन्स खरिदका लागि करिब ८५ लाख खर्च लाग्ने अनुमान गरेको छ ।

    उनले भने, ‘विशेषगरी वडा नं १ को भाराङ, हात्तीवाङ, वडा नं २ को मायाटार, वल्र्याङ र वडा नं ७ को दाहाखानीलगायतका क्षेत्रलक्षित गरी साधन खरिद गर्न लागेको हो ।’

    कृषि एम्बुलेन्सको प्रयोगबाट भौगोलिक विकटताका कारण किसानले उत्पादन गरेका तरकारी तथा फलफूलले उचित बजार नपाउँदा बारीमै फाल्नुपर्ने अवस्थाको अन्त्य हुने गाउँपालिकाले विश्वास लिएको छ ।

    उनले भने, ‘पालिकाको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत रहेर यो कार्यक्रम सञ्चालनको तयारीमा छौँ । बजेटेको व्यवस्थापनका लागि पटक-पटक संघीय सरकार धाउनुपर्यो ।’

    इच्छाकामना गाउँपालिकाभित्र सुन्तला उत्पादन राम्रो हुन्छ । यस्तै काँक्रो, गोलभेँडा, फर्सी, बन्दा, काउली, भेडे खुर्सानी, अदुवा, रायो, आलु, करेला, घिरौँला, मुला, स्कुस, लौका, धनियाँ, पालुङ्गोलगायतका तरकारी उत्पादन हुने गरेको छ ।

    गाउँमा उत्पादन भएका फलफूल र तरकारी राजमार्गमा रहेका चुम्लिङटार, कुरिनटार र मुग्लिनमा ल्याएर बेच्ने गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij