Logo

२०७९, चैत्र ८ गते बुधवार

२०७९, चैत्र ८ गते बुधवार

images

२२ जिल्ला शाखा र आठ उपशाखालाई एम्बुलेन्स हस्तान्तरण

२२ जिल्ला शाखा र आठ उपशाखालाई एम्बुलेन्स हस्तान्तरण

  • 135
    SHARES
  • २२ जिल्ला शाखा र आठ उपशाखालाई एम्बुलेन्स हस्तान्तरण

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित, घाइते तथा सुत्केरीलगायतलाई मानवीय सेवा पुर्‍याउने उद्देश्यले ३० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

    images

    रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी)को सहयोगमा खरिद गरिएका ती एम्बुलेन्स विभिन्न २२ जिल्ला शाखा र आठ उपशाखालाई हस्तान्तरण गरिएको हो ।

    नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालय कालीमाटीमा आज आयोजित कार्यक्रममा आइएफआरसीका महासचिव जगन्नाथ चापागाईंले ती एम्बुलेन्सको साँचो हस्तान्तरण गरे ।

    खरिद गरिएका ३० वटै एम्बुलेन्स ‘ख’ वर्गका छन् । ‘ख’ वर्गका एम्बुलेन्समा अक्सिजन सिलिन्डर, मोनिटरलगायत न्यूनतम स्वास्थ्य पूर्वाधार रहेका हुन्छन् ।

    एम्बुलेन्स प्राप्त गर्नेमा इलाम, झापा, तेह्रथुम, सङ्खुवासभा, सप्तरी, उदयपुर, भक्तपुर, नुवाकोट, तनहुँ, गुल्मी, प्यूठान, सल्यान, सुर्खेत, दाङ, जाजरकोट, डोटी, मुगु, बझाङ, बैतडी, दार्चुला, कैलाली र कञ्चनपुर जिल्ला शाखा छन् ।

    यस्तै बाँकेको सोनारी, बर्दियाको बारबर्दिया, भोजपुरको अन्नपूर्ण, गोरखाको मनकामना, कालीकोटको नरहरिनाथ, रोल्पाको घर्तीगाउँ, सिन्धुलीको ग्वालटार र सिरहाको मिर्चैया उपशाखाले पनि एम्बुलेन्स प्राप्त गरेका छन् ।

    २०२० भदौ १९ गते स्थापना भएको नेपाल रेडक्रसले दुर्घटनाका घाइते तथा बिरामीको स्वास्थ्य अवस्था बिग्रन नदिन २०२१ सालमा पहिलो पटक नेपालमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको थियो ।

    त्यतिबेला जर्मन रेडक्रसको सहयोगमा एम्बुलेन्स सञ्चालन गरिएको थियो । सो लगत्तै २०२२ सालमा जापान सरकारको सहयोगमा रेडक्रसले दोस्रो एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । रेडक्रसले हाल ६८ जिल्लामा दुई सय ७५ वटा एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

    सरकारको राष्ट्रिय एम्बुलेन्स नीतिअनुरुप पुराना एम्बुलेन्सको स्तरवृद्धि गर्ने र नयाँ खरिद गर्दा ‘ख’ वर्गको एम्बुलेन्स खरिद गर्ने नीति लिइएको रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले जानकारी दिए ।

    सरकारको राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ र नेपाल रेडक्रसले अवलम्बन गरेको स्तरवृद्धिको नीतिअनुसार कोभिड-१९ पूर्वतयारी तथा प्रतिकार्य कार्यक्रमबाट आइएफआरसीको सहयोगमा ती एम्बुलेन्स खरिद गरिएका हुन् ।

    यी एम्बुलेन्स विभिन्न जिल्ला शाखालाई हस्तान्तरण गरिएसँगै रेडसक्रसको एम्बुलेन्स सेवा अझ स्तरीय हुँदै जाने र बिरामी तथा घाइतेलाई अस्पतालसम्म पुर्‍याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको रेडक्रस सोसाइटीले जनाएको छ ।

    हस्तान्तरण गरिएका एम्बुलेन्सलाई प्रादेशिकस्तरमा स्थापना गरिएका प्रेषण केन्द्रमा आबद्ध गरी १०२ नंम्बर मार्फत सञ्चालन हुनेछन् । एम्बुलेन्स हन्तान्तरण कार्यक्रममा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका महासचिव चापागाईंले अर्काको जीवन रक्षाका लागि सहयोग गर्ने रेडक्रसको मूल भावलाई जोगाएर राख्न सक्नुपर्ने बताए ।

    आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लाले एम्बुलेन्स सेवा नेपालीका लागि जीवनदायी हुने विश्वास व्यक्त गरे ।

    स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा.समीर अधिकारीले अस्पताल नपुगेसम्म (पूर्वअस्पताल)को एम्बुलेन्स सेवालाई सुदृढीकरण गर्न सरकारले महत्वपूर्ण योजना बनाएको बताए । उनले सरकारले ल्याएको कार्ययोजनाअनुसार एम्बुलेन्स सञ्चालन गर्न आग्रह गरे ।

    नेपाल रेडक्रसका कार्यकारी निर्देशक ढकालले विपद् जोखिम न्यूनीकरण, प्राथमिक स्वास्थ्य सेवा, एम्बुलेन्स सेवालगायत क्षेत्रमा काम गरिरहेको बताए । नेपाल रेडक्रसले वार्षिक ३० लाखलाई सेवा पुर्‍याएको उनको भनाइ छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology