Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मैत्रीपूर्ण फुटबल खेलमा इराकसँग नेपाल पराजित

मैत्रीपूर्ण फुटबल खेलमा इराकसँग नेपाल पराजित

  • 782
    SHARES
  • मैत्रीपूर्ण फुटबल खेलमा इराकसँग  नेपाल पराजित

    काठमाडौं । मैत्रीपूर्ण खेलमा नेपाली फुटबल टोली इराकसित फराकिलो अन्तरले पराजित भएको छ । इराकको बसरास्थित अल्फायहा खेल मैदानमा शनिबार राति सम्पन्न खेलमा नेपाल इराकसँग ६-२ गोलअन्तरले पराजित भएको हो ।

    इराकसितको खेलमा नेपालको रक्षापङ्क्ति निकै कमजोर देखिन्थ्यो । मध्यान्तरअघिको खेलमा इराकले चार गोल गर्न सफल भएको थियो । मध्यान्तरपछिको खेलमा इराकले थप दुई गोल गरेको थियो । खेलमा इराकले सुरुवाती अग्रता लिएको थियो । इराकका लागि खेलको सातौं मिनेटमा कप्तान अला अब्दुल जहर खासिनले पहिलो गोल गरेका थिए । 

    खेलको ३०औं मिनेटमा नेपालका लागि मनिष डाँगीले गोल गरेका थिए । नेपाली टोलीका महत्वपूर्ण खेलाडी रोहित चन्द टाउकोमा चोट लागेपछि मैदानबाट बाहिरिएका थिए । 

    मध्यान्तरपछिको खेलमा नेपालले निकै दबाबमा खेलेको थियो । नेपालले इराकसित दुई दशकपछि खेल खेलेको हो । यसअघि नेपालले इराकसित सन् २००१ मा खेलेको थियो ।

    विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको वरियताअनुसार नेपालभन्दा इराक १०३ स्थान माथि छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा इराक ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ ।  

    कोरोना भाइरसको महामारीका कारण शनिबारको खेलमा दर्शकलाई मैदान प्रवेशमा रोक लगाइएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली फुटबल टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुबेत जाने छ ।

    मैत्रीपुर्ण खेल, विश्वकप छनोट र एशियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडी छनोट गरेका हुन् । समूह बी मा रहेको नेपालले विश्वकप छनोटअन्तर्गत जेठ २० गते चाइनिज ताइपेइ, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ । 

    विश्वकप छनोटमा नेपालले हालसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ । नेपाली टोली जेठ २९ गते नेपाल फर्किनेछ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij