Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

अध्ययनसँगै सामूहिक च्याउ खेतीबाट पढाइ खर्च जुटाउँदै विद्यार्थी

अध्ययनसँगै सामूहिक च्याउ खेतीबाट पढाइ खर्च जुटाउँदै विद्यार्थी

  • 384
    SHARES
  • अध्ययनसँगै सामूहिक च्याउ खेतीबाट पढाइ खर्च जुटाउँदै विद्यार्थी

    कैलाली । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत छिन् ।

    उनले अध्ययन सँगसँगै आफ्नो पढाइ खर्चको केही रकम आफैं व्यवस्थापन गर्दै आएकी हुन् । कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी उनीलगायतका साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन ।

    ‘भाडाको बसाइँ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने’, विपनाले भनिन्, ‘च्याउ खेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ ।’

    समूहमा जोडिएका अछाममा रमेश साउँद मंगलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिन्छन् । उनीहरूले कृषि हाटबजारमा साथीहरूको पालो लगाएका छन् । उनीहरू उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा पुर्‍याउँछन् ।

    उनीसँगै एकदुई जना अन्य साथीहरू पनि सँगै हुन्छन् । बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उनीहरूले स्टलको अगाडि राखेको हुन्छ ।

    केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउ खेतीको बारेमा बुझाउन । उनीहरूले प्रतिकेजी एक सय २० सम्ममा च्याउ बिक्री गर्ने गरेका छन् ।

    ‘बजारको समस्या छैन । उत्पादन भएको च्याउ सहजै बिक्री हुन्छ । हप्तामा दुई दिन कृषि हाट बजारमा ४० देखि ५० केजी च्याउ बिक्री हुन्छ ।’ रमेशले भने, ‘आम्दानी भएको रकम समूहमा जम्मा गर्छौं । कलेजको अतिरिक्त क्रियाकलापका लागि खर्च गर्छौं भने बाँकी बराबर भाग लगाउँछौँ ।’

    प्रतिव्यक्ति पाँच हजार जम्मा गरेर कलेजभित्रै उनीहरूले च्याउ उत्पादन सुरु गरेका हुन । प्लास्टिकको टनेल निर्माण गरेर सामूहिक काम गर्दै आएका विद्यार्थीले आफूले पनि तरकारी किनेर खानुपरेको छैन ।

    बाँकी रहेको जमिनमा तरकारी फलाएका छन् । आफूहरूको क्षेत्र पनि कृषि भएकाले सिजनअनुसार आम्दानी राम्रो हुने देखेपछि सामूहिकरूपमा काम थालिएको कुवेर जैशीले बताए ।

    ‘आठ जनाको समूह बनाएर ४० हजारबाट च्याउ खेती सुरु गर्यौं । त्यसको परिणाम राम्रै भएको छ । एकातिर सिकाइ पनि भयो भने अर्कोतिर आम्दानी पनि ।’ कुवेरले भने, ‘उत्पादन भएको पहिलो लटको च्याउबाट हाम्रो लगानी उठेको छ । अहिलेसम्म तीन क्विन्टल च्याउ बिक्री गरेका छौँ । अझै त्यहीँ मात्रामा उत्पादन हुने आशा छ ।’

    उनीहरूले च्याउ खेतीसँगै सिजनअनुसार अन्य तरकारी खेती गर्ने सोचसमेत बनाएका छन् । बिहानको समयमा कलेजमा हाजिर हुने बिद्यार्थी समूह फुर्सदको समयमा त्यहीँ बारीमा व्यस्त हुनेगरेका छन् ।

    फुर्सदको समय सदुपयोगले सिकाइसँगै आम्दानी हुन थालेपछि अन्य विद्यार्थी पनि समूहमा जोडिन चाहेको अर्जुन सिग्देलले जानकारी दिए ।

    ‘हामीले गरेको कामबाट हाम्रो समूह मात्रै सन्तुष्ट छैन । अन्य कक्षाका विद्यार्थीलाई सिक्ने अवसरसमेत मिलेको छ’, अर्जुनले भने, ‘कृषिलाई आधुनिकता र व्यावसायिक कसरी बनाउने, कस्तो माटोमा के लगाउँदा राम्रो उत्पादन हुन्छ त्यसको परीक्षण गरेर कृषि गर्दै आएका छौँ ।’

    यसभन्दा पहिले उनीहरूले फूल खेतीसमेत गरेका थिए । फूल खेतीबाट ५० हजार आम्दानी गरेको आशिष धामीको भनाइ छ । यस वर्ष फूल खेतीलाई बढाउने सोचमा विद्यार्थी समूह छ ।

    आशिषले बजारमा फूलको मागलाई पूरा गर्न नसकिएको बताउँदै पाठ्यक्रमको अध्ययनभन्दा यस्तै कार्यक्रमबाट बढी सिकाइ हुने गरेको बताए ।

    ‘फूल खेतीबाट पनि राम्रो उत्पादन गर्न सफल भएका थियौं । त्यो फूल खेतीले पनि हामीलाई थप कृषिमा लाग्न ऊर्जा दिएको हो’, आशिषले भने, ‘आज राम्रो हुँदै गएको छ । अध्ययन सकिएपछि पनि कृषिमै काम गर्नुपर्ने हुँदा समूहलाई निरन्तरता दिने गरी काम गर्ने सोच पनि छ ।’

    कलेजमा अध्ययन गर्ने अधिकांश विद्यार्थी टीकापुर बाहिरका छन् । सबै भाडामा कोठा लिएर बसेका छन् । घरबाट पठाएको पैसाले खर्च धान्न नसकेपछि उनीहरू कृषिमा आकर्षित हुँदै गएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij