वेबटिभी खबर
काठमाडौं । यातायात मजदुर सम्वद्ध तीन संगठनको आह्वानमा काठमाडौंमा आज भएकाे सार्वजनिक यातायात बन्दले उपत्यकामा प्रभाव देखिएको छ ।
निकै कम सार्वजनिक सवारी सडकमा गुडेका छन् । केही बस, माइक्रो बस र ट्याक्सी भने चलेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघको आह्वानमा सार्वजनिक यातायात बन्द गरिएको हो । सरकारले भने आन्दोलनरत यातायात मजदुरलाई आज वार्तामा डाकेको छ ।
सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको भन्दै यातायात मजदुरहरुले बन्द आव्हान गरेका हुन् । बन्द आह्वान गर्ने मजदुरले सोमबार बालाजु क्षेत्रमा प्रदर्शन, तोडफोड र आगजनी गरेका थिए । त्यस क्रममा प्रहरीको दुई वटा सवारीमा आगजनी भएको छ । त्यस क्षेत्रका केही पसलमा समेत तोडफोड भएको छ ।
सवारी बन्द हुँदा यात्रुहरु अलपत्र परेका छन् । थोरै संख्यामा चलेका सवारीमा यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । सवारी नचलेपछि यात्रुहरु पैदल गन्तव्यतर्फ अघि बढेको पनि देखिएको छ । निजी सवारी भने निर्वाध चलिरहेका छन् । फाइल फाेटाे
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij