वेबटिभी खबर
मोरङ । मोरङ बेलबारी नगरपालिका-९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त हुन्छन् ।
विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका हुन् । विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब ५० लाख आम्दानीको लक्ष्य लिएका छन् ।
तीन वर्ष मलेसिया बस्दा कमाएको करिब एक लाख ५० हजार लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका थिए । हाल फर्ममा एक करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ ।
तीन कठ्ठा क्षेत्रफलमा तीन वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल चार वटा पक्कि घर बनिसकेका छन् भने थप तीन वटा बन्ने क्रममा छन् । च्याउ उत्पादन हुने पक्कि घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन् ।
एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीले जानकारी दिए । वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिव १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ ।
गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएका छन् । उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ ।
हाल थोकमा एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए । उत्पादन गरिएको च्याउ हरेक विहान ४ बजेसम्म इटहरी पुर्याई सक्नुपर्ने र ७ बजे सम्ममा बिराटनगर र धरानसम्म पुर्याई सक्नुपर्ने हुन्छ ।
दैनिक रूपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पुर्याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना बनाएको उनले सुनाए । उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारिमा रोजगारी दिएका छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन् ।
सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाँइ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ ।
सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरेका थिए तर दुई वर्ष अघि उनको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो । हाल उनी काठमाडौंस्थित च्याउको बिउ उत्पादन गर्ने ल्याव सञ्चालन गरिरहेका छन् ।
विवेक बाेगटीले पनि सोही ल्यावबाट कन्ये जातको च्याउको बिउ लिइरहेका छन् । दुई वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उनले बताए ।
डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको छ । ‘वैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरूले सरल कर्जा दिन्छ भन्ने सुनेर बिराटचोकस्थित कृषि विकास बैंकमा पटक-पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे’, उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij