वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनका सम्बन्धमा आवश्यक निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सोमबार बसेको माओवादी पदाधिकारी बैठकले पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रपति निर्वाचनमा विषयमा आवश्यक निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।
बैठकपछि माओवादी प्रवक्ता कृष्णबहादुर महराले पार्टीको स्वार्थमा केन्द्रित भएर राष्ट्रिय सहमतिको खोजी गर्ने निर्णय भएको जानकारी दिए ।
गणतन्त्रको रक्षा, संविधानको रक्षा र शान्ति प्रक्रिया पूरा गर्ने माओवादीको स्वार्थ रहेको र यसैमा केन्द्रित रहेर राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको खोजि गरिने उनले बताए ।
उनले मुलुकको हितका लागि राष्ट्रिय सहमतिबाटै राष्ट्रपति चयन हुनुपर्नेमा माओवादीको अडान कायमै रहेको धारणा राखे ।
उनले राष्ट्रपतिको उम्मेदवारका विषयमा भने बैठकमा कुनै छलफल नभएको जानकारी दिए । बैठकमा राष्ट्रपतिको निर्वाचनका लागि अन्य दलहरुसँग भएको छलफलका बारेमा पार्टी अध्यक्ष प्रचण्डले जानकारी गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij