Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

वन्यजन्तुका कारण किसानले गहुँ खेती गर्न छाडे

वन्यजन्तुका कारण किसानले गहुँ खेती गर्न छाडे

  • 318
    SHARES
  • वन्यजन्तुका कारण किसानले गहुँ खेती गर्न छाडे

    नवलपरासी । पूर्वीनवलपरासीको कावासोती-११ का फेमनारायण पौडेलले आफ्नो खेतबारीमा गहुँ खेती गर्न छाडेको करिब पाँच वर्ष पुग्यो । नजिकैको निकुञ्जबाट निस्किने वन्यजन्तु विशेषगरी गैंडाले बाली लाग्नुअगावै सखाप पार्ने क्रम नरोकिएपछि  उनले गहुँ खेती नै गर्न छाडेका हुन् ।

    पौडेलजस्तै पूर्वी नवलपरासीमा रहेको चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका अधिकांश किसानले खेतबारीमा गहुँखेती गर्न छाडेका छन् । जिल्लाको दक्षिण क्षेत्र माटो तथा हावापानीका हिसाबले गहुँ उत्पादनका लागि उपयुक्त मानिए पनि निकुञ्ज र आसपासको मध्यवर्ती क्षेत्रबाट निस्किने गैंडालगायतका वन्यजन्तुको त्रासका कारण गहुँखेतीमा कमी आएको छ ।

    केही वर्षअघि उत्पादन गरेको गहुँ घरायसी प्रयोजनमा प्रयोग गरेर रहेको बिक्री गर्ने गरेका किसान अहिले गहुँका लागि बजारको भर पर्नुपरेको छ ।

    बाली नलाग्दैको हरियो अवस्थाको गहुँको खेत भेट्टाउँदा एकसिङ्गे गैंडा केही पनि बाँकी नराखी चर्ने गरेको पौडेल बताउँछन् । उनले भने, ‘सधैँ खेतमा मचान बनाएर कुर्न पनि सकिन्न, हरियो गहुँ पायो भने गैंडाले फेदसम्मै खाइदिन्छ । त्यसपछि गहुँको उत्पादन त के घाँस पनि हुँदैन ।’

    निकुञ्जबाट निस्कने वन्यजन्तुले खेतीबाली नष्ट गरे क्षतिपूर्ति पाइने व्यवस्था भएपनि न्यून क्षतिपूर्ति र झन्झटिलो प्रक्रिया हुँदा किसान मारमा पर्ने गरेका कावासोती-१२ का राजेश लम्सालले बताए ।

    उनले भने, ‘दुःखले लगाएको खेती गैंडाले खाइदिन्छ, क्षतिपूर्ति समयमा पाइन्न, पाइहाले पनि  साह्रै थोरै पाइन्छ, वन्यजन्तुको भरपर्दो समाधान नहुँदासम्म खेती गरेर बाँच्न गाह्रो भयो ।’

    विशेषगरी एकसिंगे गैंडाले गहुँ कलिलो अवस्थामा अत्यधिक रुचाउने भएकाले निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट निस्किने गैंडा गहुँखेती खोज्दै किसानको खेतबारीमा आइपुग्ने गरेको लम्सालले बताए ।

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा गहुँखेती गर्ने किसानको संख्या क्रमशः घटदै गएको कृषि ज्ञान केन्द्रका पूर्वी नवलपरासीका सूचना अधिकारी शंकर पौडेलले बताए ।

    मध्वर्ती क्षेत्रका किसानले लगाएको गहुँखेती गैंडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम बढेकाले यो क्षेत्रमा गहुँखेती घटदै गएको पौडेलले बताए । जिल्लाको दक्षिणी क्षेत्रमा गहुँखेती गर्ने किसान घट्दै गएपनि उत्तरी क्षेत्रमा भने गहुँखेती हुने गरेको पौडेलले बताए ।

    उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०७८/७९ मा सात हजार चार सय ४० हेक्टर जमिनमा २० हजार नौ सय ३० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । चालु आव २०७९/८० मा सात हजार चार सय ४५ हेक्टर जमिनमा २१ हजार दुई सय १८ मेट्रिक टन गहुँ उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij